बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गर्दै ४७ औं विश्व पर्यटन दिवस मनाइएको छ। प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसमा आइतबार चिनियाँ र अस्ट्रेलियाका १४ जना पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो।
लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी बौद्ध विश्व विद्यालय, नेपाल पर्यटन बोर्ड लगायतको संयुक्त आयोजनामा पञ्चशिल पाठ गरी पर्यटकलाई स्वागत गरिएको छ।
लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव ज्ञानिन राईले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका पर्यटकका लागि उपयुक्त स्थल रहेको भन्दै लुम्बिनी भ्रमणका लागि निम्तो दिए।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लिलामणि शर्माले लुम्बिनी आउने पर्यटकलाई सधैँ सहज रूपमा स्वागत गर्न आफूहरू तयार रहेको बताए। उक्त अवसरमा चिनियाँ पर्यटक मिस जिगुले समेत लुम्बिनी भ्रमणमा आउदा स्वागत पाएकोमा खुसी व्यक्त गरिन्।

पर्यटकलाई स्वागतपछि लुम्बिनीको बारेमा बिफ्रिङ गरिएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले बताए। यो वर्ष ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ भन्ने नारासहित दिवस मनाइएको हो।
लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा भ्रमण गराई खाना समेत खुवाएको थियो। गत वर्ष ११ लाख बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।



