भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनका जलविद्युत् आयोजना हाई अलर्टमा

हिमाल प्रेस ९ असोज २०८३ ११:४५ | Friday, September 25, 2026
4
SHARES
भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनका जलविद्युत् आयोजना हाई अलर्टमा

काठमाडौँ- असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएपछि गण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी क्षेत्रमा भारी वर्षाको प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै जलविद्युत आयोजनालाई हाई अलर्टमा राखेको हो।

विद्युत विकास विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरणका आयोजना र निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको बताए।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनालाई मौसमको निरन्तर जानकारी लिँदै सोहीअनुसार सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका आयोजनासँग इप्पानले समन्वय गरिरहेको छ।

बिहीबार बेलुकी बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अद्यावधिक जानकारी लिएर गण्डकीलगायत जोखिमयुक्त क्षेत्रमा रहेका जलविद्युत आयोजना र विद्युत पूर्वाधारको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका थिए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनालाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताए। उनले प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाएर समन्वय गरिरहेको जानकारी दिए।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सबस्टेसनमा क्षति पुगेर करिब १० प्रतिशत विद्युत प्रणाली बाहिरिएपछि सरकारले सम्भावित विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको बताए।

प्रकाशित: ९ असोज २०८३ ११:४५ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast