बिना तामझाम पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री शाह

हिमाल प्रेस ६ असोज २०८३ २०:३८ | Tuesday, September 22, 2026
8
SHARES
बिना तामझाम पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री शाह न्युयोर्कतर्फ हिँडेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै गृहमन्त्री सुधन गुरुङ र संस्कृतिमन्त्री खडकराज पौडेल। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमणमा प्रधानमन्त्रीको यात्रासँग जोडिने परम्परागत तामझाम देखिएन। न राष्ट्रिय पहिरनमा सजिएर विमानस्थल पुगे, न नेपाली सेनाको सलामी लिए, न औपचारिक बिदाइ समारोह नै भयो। कालो कोट र सेतो जुत्तामा सीमित सदस्यको टोली लिएर शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कतर्फ उडेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र संस्कृतिमन्त्री खडकराज पौडेलले बिदाइ गरे। प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हो। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा हुँदै न्युयोर्क गएका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्नेल बालमुकुन्द बिष्ट, डीएसपी दीपेश बस्याल छन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाह कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्क जानेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईसहित दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नेछन्।

प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार बिहान १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरनलगायत अधिकारीले स्वागत गर्नेछन्।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह सोही दिन संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले उनलाई भ्रमणसम्बन्धी ब्रिफिङ गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि विभिन्न देशका स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन्।

असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै उनले महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।

असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्। उनलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत आरनलगायत अधिकारीले बिदाइ गर्नेछन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका छ।

यो पनि

न्युयोर्कमा खनालको ‘म्याराथन कूटनीति’, विश्वमञ्चमा युवा प्रधानमन्त्रीको परीक्षा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast