काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए कांग्रेस फुट्ने निश्चित भएको बताएका छन्। उनले सामाजिक सन्जालमार्फत महाधिवेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिटमा सुनुवाइ नहुँदा कांग्रेस अहिलेको अवस्थामा पुगेको खड्काले बताएका छन्।
‘पुनरावलोकनको लागि निस्सा दिएको अवस्थामा सभापति गगन थापाको नेतृत्वमा महाधिवेशन प्रकृया अगाडि बढाउने निर्ण्य भएसँगै विचाराधीन पुनरावलोनको मुद्दाको अन्तिम टुङ्गो नलागे सम्म महाधिबेशनको सबै प्रकृया रोकि पाउ भनी कानुनी प्रबन्ध बमोजिम सर्वोच्च अदालतमा रोक्काको निवेदन लिएर गयौ,’ खड्काले भनेका छन्,‘हाम्रो बुझाइमा सामान्यतया महाधिवेशन रोक्का हुने अवस्थाको प्रतिकूल पूर्ण इजलासले सम्माननीय प्रधानन्यायाधीश रहेको पूर्ण इजलासबाट दिइएको पुनरावलोकनको आदेशलाई समेत सेन्सरनै गर्ने गरी महाधिवेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारी गरी दिएन जसको परिणाम नेपाली कांग्रेसको नाममा अलग अलग दुईवटा महाधिवेशन हुने अवस्था सृजना भयो।’
खड्का कुनै बेला कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकटस्थ नेता हुन्। पछिल्लो समय उनी गगन पक्षमा खुले। उनीनिकट नेता पनि अहिले गगन पक्षको संस्थापन पक्षमा छन्। उनी भने आफू महाधिवेशनमा भाग नलिने भएका छन्। आफैले गगनको नेतृत्वविरुद्ध अदालतमा रिट लिएर गएको भन्दै उनी नैतिकता आधारमा महाधिवेशनमा भाग नलिने भएका हुन्।


