भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो छ तर जरो उखेल्ने हातहरू झनै बलियो बनाएका छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ३ असोज २०८३ १३:१३ | Saturday, September 19, 2026
भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो छ तर जरो उखेल्ने हातहरू झनै बलियो बनाएका छौँ : प्रधानमन्त्री संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार टुँडीखेलमा आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताएका छन्। संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलिया र धेरै भएको बताएका हुन् ।विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको कुरामा सरकार सचेत रहेको उनको भनाइ छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको शाहले स्पष्ट पारे।

‘भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ’, प्रधानमन्त्री शाहले भने, ‘तर यो जरो उखेल्ने हातहरू अब झन् बलिया र धेरै छन्।’ सुशासन नारा मात्र नभएर काम भएको भन्दै उनले सरकार सोहीअनुसार अघि बढिरहेको उल्लेख गरे। सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। आफूहरू पुरानै बाटोमा नहिँड्ने उनको दाबी छ।

प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहले बताए। ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ’, उनले भने, ‘डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो।’ सडकमा युवाले मागेको सुशासन सरकारले प्रविधिबाट पनि सुनिश्चित गर्ने उनले दाबी गरे।

हालै रसुवा र भोटेकोसीमा बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको भन्दै उनले विपद् उद्धार तथा राहतमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। धन्यवाद मात्र पर्याप्त नहुने भन्दै उनले विपद् व्यवस्थापनमा पूर्वतयारी अपनाइने बताए।

‘नेपाल विश्वको उच्च विपद् जोखिममा भएका मुलुकहरूको सूचीमा छ’, शाहले भने, ‘यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ।’ जोखिम न्यूनीकरण र पूर्वतयारीमा विशेष जोड दिइने भन्दै उनले विपद् पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने जानकारी दिए।

संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारे। संविधानले नेपाली जनतासँग विविधताबिचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै समतामूलक समाज निर्माणको वाचा गरेको उनले स्मरण गराए।

प्रकाशित: ३ असोज २०८३ १३:१३ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast