काठमाडौँ- नेपाली कांग्रेसले उत्साहपूर्वक पार्टीका सबै तहका अधिवेशनहरूमा भाग लिन क्रियाशील सदस्यहरूलाई आह्वान गरेको छ।
वडा अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागि निर्वाचन प्रक्रियामा सहभागी हुन क्रियाशील सदस्यहरूलाई आह्वान गरेको हो।
कांग्रेस संस्थापनले पार्टीको वडा अधिवेशन शनिबार र आइतबार (असोज ३ र ४ गते) का लागि तोकेको छ।
‘कुनै पनि अफवाह र भ्रामक कुरामा नलागि असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साप्रद रूपमा सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति पुनः हार्दिक अनुरोध गर्दछ,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति निकालेर भनेका छन्।
उनले १५ औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको समेत जनाएका छन्। वडा तहको निर्वाचन कार्यक्रम सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटिएर कार्य प्रारम्भ गरिसकेको कटुवालले बताएका छन्।
उनका अनुसार जिल्ला निर्वाचन अधिकृतहरूबाट जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यहरूसँग निर्वाचन गर्ने विषयम वृहत्तर छलफल गर्ने र वडा तहमा मतदान खटाउनेलगायतका कार्यसमेत सम्पन्न भइसकेका छन्।
कांग्रेस संस्थापनले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। १५ औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार वडा अधिवेशन हुन लागेको हो।
यता, संस्थापन इतर (देउवा) समूहले भने असोज १५ गतेबाट महाधिवेशन प्रक्रिया आरम्भ हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ। १४ औँ महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशन गराउने तर्क यो समूहको छ।
दुवै समूहले छुट्टाछट्टै महाधिवेशन प्रक्रिया अगाडि बढाएपछि कांग्रेस विभाजनको नजिक पुगेको पार्टीकै नेताहरूले बताउन थालेका छन्।


