पाठ्यक्रम परिमार्जन : बालविकास शिक्षालाई विद्यालय संरचनामा ल्याउन सुझाव

हिमाल प्रेस २६ भदौ २०८३ १२:११ | Friday, September 11, 2026
पाठ्यक्रम परिमार्जन : बालविकास शिक्षालाई विद्यालय संरचनामा ल्याउन सुझाव एक सामुदायिक विद्यालयको बाल विकास कक्षा । फाइल तस्बिर ।

भक्तपुर- ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्।

पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन्।

कोशी प्रदेशमा आयोजित छलफलमा सहभागीले शिक्षालाई स्थानीय उत्पादनसँग जोड्दै स्वरोजगार र उद्यमशीलतामुखी बनाउनुपर्ने, सिकाइलाई विद्यार्थीकेन्द्रित, सिर्जनात्मक, प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिएका छन्।

सहभागीले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारसँगै देशप्रेम, नैतिकता तथा परम्परागत भाषा, लिपि र संस्कृतिको संरक्षण हुने किसिमको शिक्षा आवश्यक रहेको बताएका छन्। पाठ्यक्रमलाई लचिलो बनाउँदै निर्माण र कार्यान्वयनको केही जिम्मेवारी विद्यालय तथा शिक्षकलाई दिनुपर्ने सुझाव प्राप्त भएको छ।

मधेश प्रदेशमा पाठ्यक्रमको विषयवस्तु तथा पाठ्यभार घटाउनुपर्ने विषय प्रमुख रूपमा उठेको छ। पर्यटन, कृषिलगायत स्थानीय तथा सम्भावनायुक्त क्षेत्रसँग सम्बन्धित ज्ञान र सीप पाठ्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव छ। प्रविधिसम्बन्धी विषयवस्तुलाई परिमार्जन गर्दै एआईसम्बन्धी ज्ञानलाई पाठ्यक्रममा समेट्नुपर्ने सहभागीको माग छ।

यस्तै, नैतिक तथा आध्यात्मिक शिक्षा, सामाजिक कार्यमा विद्यार्थीको सहभागितामार्फत मूल्यांकन, शिक्षकलाई पाठ्यक्रम विकासमा सहभागी गराउने र शिक्षकको क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

मातृभाषा, नेपाली र अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनुपर्ने तथा रैथाने ज्ञान र सीपमार्फत रोजगारी सृजना हुने विषयवस्तु समावेश गर्नुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, प्रधानाध्यापकलाई प्रशासकभन्दा शैक्षिक नेताका रूपमा विकास गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने, विद्यार्थीका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र अभिभावक शिक्षामा जोड दिनुपर्ने उल्लेख छ।

बागमती प्रदेशमा उद्यमशीलता तथा रोजगारउन्मुख शिक्षा, अनिवार्य अभिभावक शिक्षा, नैतिक शिक्षा तथा स्थानीय ज्ञान, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

गण्डकी प्रदेशका सहभागीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी, सीपमूलक तथा रोजगारमुखी बनाउनुपर्ने बताएका छन्। पूर्वव्यावसायिक, कृषि तथा प्राविधिक शिक्षामार्फत आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने तथा स्थानीय भूगोल, इतिहास, कला, संस्कृति र विविधतालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव छ।

लुम्बिनी प्रदेशका सहभागीले पाठ्यभार तथा विषयवस्तु बढी भएकाले घटाउनुपर्ने, देशप्रेमको भावना विकास गर्ने किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्ने र एआईको प्रयोगमार्फत सिर्जनात्मकता विकास गर्नुपर्ने सुझाव दिएका छन्।

उनीहरुले युवालाई विदेश पलायन हुन बाध्य बनाउनेभन्दा स्वदेशमै आत्मनिर्भर र रोजगारी सृजना गर्न सक्षम बनाउने पाठ्यक्रम आवश्यक रहेको बताएका छन्।

कर्णाली प्रदेशमा प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालय संरचनामा दुई वर्षको अवधिमा ल्याउनुपर्ने, पाठ्यक्रमको वास्तविक कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रभावकारी बनाउनुपर्ने र बारम्बार हुने पाठ्यक्रम परिवर्तनले सृजना गरेको अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ।

शिक्षकलाई विभिन्न पक्षबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा सहभागीले आफ्नो मत राखेका छन्। सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्रालय प्याब्सन सुदूरपश्चिमले धनगढीमा कार्यक्रम सञ्चालन गरेको भए पनि छलफलबाट प्राप्त मुख्य सुझावको विवरण उपलब्ध गराइएको छैन।

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लाबाट सरोकारवालाको सुझाव तथा पृष्ठपोषण संकलन गरेको हो।

विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तक्र्रिया गरिएको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव संकलन गरिनेछ। त्यसपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइबाट सुझाव लिइनेछ। यस्तै, केन्द्रको वेबसाइटमार्फत सुझाव प्राप्त गरिनेछ।

सातै प्रदेशका कार्यशालाबाट प्राप्त सुझावमा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई स्थानीय आवश्यकता, रोजगारी, उद्यमशीलता, प्रविधि, नैतिकता र जीवनोपयोगी सीपसँग जोड्दै पाठ्यभार कम गर्नुपर्ने उल्लेख छ।

प्राप्त सुझावका आधारमा पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जनका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित: २६ भदौ २०८३ १२:११ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast