तस्बिर एआई निर्मित
चितवन- मुग्लिन-काठमाडौँ सडक खण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्ने गरी सडक मर्मत कार्य जारी रहेकाले सो खण्डमा सवारी साधनको आवागमन ठप्प भएको छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष प्रभाव परी नारायणगढ-मुग्लिन सडक खण्डमा समेत सवारी आवागमन निकै न्यून भएको छ।
कृष्णभीरमा सडक मर्मत भइरहेको सोही समयको सदुपयोग गर्दै नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला परियोजना अन्तर्गतको माटो कटान कार्यलाई अगाडि बढाउने निर्णय गरिएको छ।
यसबाट न्यूनतम सङ्ख्यामा मात्र सवारी साधन प्रभावित हुने भएकाले कृष्णभीरको मर्मत नसकिउन्जेलसम्मका लागि भोलि भदाै २२ गतेदेखि लागू हुने गरी तुइन खोला क्षेत्रमा निश्चित समय तालिका अनुसार सवारी साधन सञ्चालनमा आंशिक रोकावट गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना अनुसार भोलिदेखि बिहान ६:०० देखि ८:०० बजेसम्म, बिहान ८:३० देखि १०:३० बजेसम्म, बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म, दिउँसो १:३० देखि ३:३० बजेसम्म र दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी साधन बन्द रहनेछन्।
त्यस्तै दुई-दुई घण्टाको बन्दपछि बीचमा आधा घण्टाका लागि सवारी खुला गरिनेछ भने साँझ ६:०० बजेपछि आवागमन नियमित रूपमा सञ्चालन हुनेछ।
प्रशासनले सोही कार्यतालिकालाई मध्यनजर गरेर मात्र यात्रा तथा सवारी साधन सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।


