कला र साहित्यका संगम मनुजबाबु मिश्रको सम्झनामा

रमेशप्रसाद खनाल २० भदौ २०८३ १३:३९ | Saturday, September 5, 2026
कला र साहित्यका संगम मनुजबाबु मिश्रको सम्झनामा

उत्तरमा शिवपुरीको घना जंगल र त्यसकै छेउमा देखिने सधैँ हाँसिरहने गणेश हिमाल, नजिकै ऐतिहासिक जगडोल अनि सुन्दर कपनको डाँडो, त्यसको फेदीमा आँखाले भ्याएसम्मको धान/गहुँका फाँट अनि ऐतिहासिक बौद्धनाथको स्तूपबाट करिबकरिब ५/६ सय मिटर उत्तर-पश्चिममा पर्ने टारी खेत र बारी। खेतबारी हुँदै आलीआली भएर हिँड्नुपर्ने सानो गोरेटो बाटो। त्यो गोरेटोको डिलमा घना बाँसको झाङ, जहाँबाट दिउँसै हिँड्न पनि डराउनुपर्ने।

बौद्ध गिर्दा (घेरा) बाट त्यो बाँसको झाङसम्म कुनै घरबस्तीको नामोनिसान नभएको एकलास ठाउँ, सबै खुला हरिया खेत र मकैबारी मात्र। त्यही बारी र उत्तर-पश्चिममा रहेको रामहिटी र महांकालको दोसाँध र प्रकृतिको अनुपम दृश्यावलीबीच रहेको मिश्र निवास।

चाबहिल हुँदै महांकाल मन्दिरबाट केही माथि गएपछि दायाँ रहेको त्यही निवासमा ९१ वर्षअघि (वि.सं. १९९३ साल भाद्र ६ गते जनैपूर्णिमाका दिन) पिता तुलसीसिंह मिश्र र माता रमादेवीका ज्येष्ठ सुपुत्रका रूपमा मनुजबाबु मिश्रको जन्म भयो। यस्तो समृद्ध प्राकृतिक छटा, बौद्ध-हिन्दु धर्मको समन्वयात्मक संस्कृति र सभ्यताका विविध रङमा उदाएका मनुजबाबु कालान्तरमा विविध रङका कुची र कलम, अक्षर र रङका पर्याय बन्न पुगे। आफ्नै प्राकृतिक परिवेश र जीवनका जटिल परिस्थितिको साक्षी हुँदै रङ र अक्षरहरूमा जोडदार रूपमा अभिव्यक्त हुने एक होनहार प्रतिभा साबित भए।

बाल्यकाल मानिसको जीवनको थालनी मात्र होइन, भविष्यमा उसले कस्तो जीवन जिउनेछ भन्ने पूर्वसंकेत पनि हुने रहेछ। सानैदेखि चित्रकला, गीतसंगीत, नाटकमा रुचि रहेका मनुजबाबुको जीवनले यही प्रमाणित गर्दछ। जीवनका विभिन्न उतारचढाव बेहोर्दै कलासाहित्यप्रतिको अमीट रुचिलाई नै अन्ततः आफ्नो जीवनको लक्ष्य बनाएर अगाडि बढ्नु कम चुनौतीपूर्ण हुँदैन।

अभिभावकहरूको छत्रछायामा खुसी, सुखी र स्वच्छन्द जीवन बिताइरहेका मनुजबाबुले किशोर अवस्थामा भोग्नुपरेको अकल्पनीय घटनाचक्रले उनको जीवनलाई जटिल मोड पुर्‍याइदिन्छ। एक वर्षभित्रमा परिवारका सबैजसो अभिभावकहरूको निधनले उनको पारिवारिक स्थिति अनिश्चितता, अभाव र विपन्नताको कहालीलाग्दो भुमरीमा पर्दछ। त्यस्तो भयावह स्थितिमा सम्हालिएर आफ्नो गन्तव्य पुग्न सक्ने त्यस्तै केही प्रेरणादायी व्यक्तित्वमध्ये उनी एक हुन्। उनको यस्तो प्रेरणादायी जीवन, सिर्जना र अनुभूतिहरूलाई जीवन्त राख्न तथा पिताका सिर्जनाहरू सहजै आगामी पुस्तासम्म पुस्तान्तरण गराउन ‘मिश्र संग्रहालय’ स्थापना गर्ने कार्यमा अहोरात्र खटिएका छन्- उनका कान्छा छोरा रोशन मिश्र।

बेलायतको आफ्नो १४ वर्षको बसाइबाट फर्केर पिताको विरासतका रूपमा रहेको ललितकला एवं साहित्यको गरिमामय इतिहासलाई जीवित राख्न, पिताले जन्म लिएको र मृत्युवरण गरेको बौद्ध-महांकालस्थित भूमिमा संग्रहालय स्थापना गर्न प्रतिबद्ध भएर उनी यस कार्यमा जुटेका छन्। पिताको त्यो गौरवमय धरोहर र सिर्जनात्मक इतिहासको पाटो जोगाउन अनवरत रूपमा लागिपरेका पुत्र र परिवारको यो महाभियान अन्ततः नेपाल राष्ट्रका निमित्त एक अनमोल देनका रूपमा रहनेछ।

योगी, तपस्वी (Hermits) साधनारत रहने कुटीलाई Hermitage भनिन्छ। यही हर्मिटाज नामको कला र साहित्यको साधना गर्ने थलो वा कुटी बनाएर जीवनको करिब आधा अवधि त्यहीँ बिताएका मनुजबाबु मिश्र निःसन्देह रूपमा नेपाली कला र साहित्यका एक अद्वितीय प्रतिभाशाली व्यक्तित्व हुन्। नेपाली चित्रकला, साहित्य र संस्कृतिका पर्याय बनेका उनले विशेषगरी अतियथार्थवादी धारका कालजयी कला सिर्जना र निर्बन्ध साहित्य रचनामार्फत यस क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन्।

आफूले बाँचेको समाज, राष्ट्र र विश्वको यथार्थ स्थिति, युद्ध र शान्ति, मानव जीवनको द्वन्द्व र पीडालाई सूक्ष्म ढङ्गबाट कलामा अभिव्यक्त गर्न निपुण मनुजबाबु विश्व कला जगतमा शिर ठाडो पारेर उभ्याउन सकिने एक गौरवपूर्ण नेपाली नाम हो।

प्रारम्भिक दिनमा मनुजबाबु

पिताको साहित्य, कला, संगीतप्रति रहेको लगावले बाल्यकालदेखि नै मनुजबाबुलाई पनि नजानिँदो रूपमा यो क्षेत्रप्रति आकर्षित गरायो। बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्ने उमेरसम्म मातापिताको छत्रछायामा हुर्किने अवसर पाएका मनुजबाबुले जीवनको १२/१३औँ वसन्त पनि पूरा नहुँदै एक्कासि उनको जीवन अचानक एक अनिश्चित भविष्योन्मुख हुन पुग्यो। त्यो स्थितिले पारेको मनोवैज्ञानिक प्रभावका प्रतिबिम्बका रूपमा उनका कलाकृतिहरूमा देखिने मानवका कुरूप अनुहार, त्रासद भावभंगिमा र विद्रूपताहरूमार्फत अभिव्यक्त भएको प्रतीत हुन्छ।

आफ्नो आर्थिक अवस्था जर्जर भएको अवस्थामा पनि घरपरिवार सम्हाल्दै रात्रि स्कुलमा पढेर विद्यालयस्तरको अध्ययन पूरा गर्नु कम चुनौतीपूर्ण थिएन। २०११ सालतिर कपनमा रहेको ग्रामशिक्षा मन्दिरमा पढाउन सुरु गरेर आफ्नो खुट्टामा उभिन सुरु गरेका उनले २०१६ सालमा प्रवेशिका पास गरेपछि नेसनल कलेजमा भर्ना भई उच्च अध्ययन थाले।

२०१९ सालमा तत्कालीन पूर्वी पाकिस्तानको ढाका विश्वविद्यालयमा छात्रवृत्तिअन्तर्गत कलेज अफ आर्ट्स एन्ड क्राफ्ट्समा स्नातकसम्म अध्ययन गर्ने अवसर पाए। यो अवसरले कलाप्रतिको उनको बुझाइ, विचार र दर्शनलाई व्यापकता मात्र दिएन, विश्वकलाका समसामयिक प्रवृत्तिहरूसँग परिचित हुने अवसर पनि दियो।

२०२५ सालमा ढाकाबाट नेपाल फर्केका उनले २०२७/२८ सालतिर जनक शिक्षा सामग्री केन्द्रमा सरकारी सेवा गरे। त्यहीँ करिब १० वर्ष कार्यरत रहँदा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे। २०३० सालमा उनले राजा-रानीको मुहारचित्र बनाएको र २०३१ को राज्याभिषेक समारोहको अवसरमा दशरथ रंगशालामा प्रदर्शन गरिएको (मास क्यालेस्थेनिक्स) मा पनि उनको विशाल कला क्षमता झल्किएको थियो।

२०३८ सालमा त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसको चित्रकला विषयको उपप्राध्यापक पदमा नियुक्ति भई कार्यरत रहँदा ‘विश्व कलाको इतिहास’ र ‘कलाका सैद्धान्तिक पक्ष’ पुस्तकहरू प्रकाशित भए। करिब १० वर्ष ललितकला क्याम्पसमा प्राध्यापन गरेपश्चात् २०४८/४९ सालमा त्यहाँबाट राजीनामा दिएपछि उनको जीवनले अर्को एक नयाँ मोड लियो। उनी अचानक सार्वजनिक जीवनमा देखिन छोडे।

आफ्नै निवास परिसरमा एक सानो कुटी बनाएर उनी एकान्तवास गर्दै कलाको गहन साधनामा रहन थाले। यस अवधिमा उनले रचेका सिर्जनाहरूको अध्ययन गर्ने हो भने यो गुप्तवासले उनको जीवन, जगत् र मानवीय मूल्य र मान्यताप्रति रहेको वैचारिक धारणामा आमूल परिवर्तन ल्याएको प्रतीत हुन्छ।

उनी एकान्तवासमा बसेको विषयलाई तत्कालीन राजनीतिक व्यवस्थासँग जोडेर केहीले अनावश्यक विवाद निकाल्न पनि खोज्दछन्। उनी एकान्तवास बस्नु वा बस्न चाहनु उनको नितान्त व्यक्तिगत अधिकारको कुरा थियो। उनी कुनै निश्चित राजनीतिसँग जोडिएका थिएनन् भन्ने कुरा उनले सो अवधिमा सिर्जना गरेका कलासाहित्यका कालजयी कृतिबाट प्रमाणित हुन्छ। यिनै अपरिमेय सिर्जनाहरूका आधारमा उनको व्यक्तित्व र कृतित्वको विश्लेषण, मूल्याङ्कन र सम्मान हुनु नेपाली कलासाहित्यमा उनले पुर्‍याएको योगदानको वास्तविक न्याय ठहर्दछ।

उनी यस भौतिक संसारबाट सदाका निमित्त बिदा भएको पनि आज आठ वर्ष व्यतीत भइसकेको छ। २०७५ सालको साउन महिनाको २३ गते राति सुतिरहेको अवस्थामा नै आफ्नो देह त्याग गरे। आफू बाँचेको जीवनको आधा समय कला साधनाका निमित्त गुप्तवासमा बसेर आफूलाई बाह्य संसारको छिनाझपटीबाट टाढै राखेका उनको त्यो मरण कुनै साधुसन्तको समाधिभन्दा कम थिएन।

त्यो दिन देशले एक निःस्वार्थी, निडर, इमानदार, बहुमुखी प्रतिभाशाली सर्जक कलाकारलाई सदाका निमित्त गुमाउन पुग्यो। नेपाली वाङ्मयका विविध क्षेत्र—चित्रकला, मूर्तिकला, साहित्य, संगीत, नाटक विधामा जीवन समर्पित गरेका एक तपस्वी मनुजबाबु मिश्रको निधन एक अपूरणीय क्षति थियो। पारिवारिक, सामाजिक, आर्थिक लगायत विविध विषमताविरुद्ध सानै उमेरदेखि संघर्षरत हुनुपरेको निजी विवशता, बाध्यता र देश, काल, वैश्विक विषमताले जन्माएको त्रासदपूर्ण अवस्था, युद्ध, मानव विनाश र आतंकको छायालाई कलाका विभिन्न माध्यममार्फत अभिव्यक्त गरेर आफ्नो अलग्गै पहिचान कायम गरेका उनको सिर्जना र कृतिहरूबारे जति नै चर्चा गरे पनि थोरै नै हुन्छ।

कलामा मनुजबाबु

‘ज्ञानी विज्ञानी स्रष्टाहरूले एक्लै एक्लै बस्नुपर्छ’ भन्ने मान्यता बोक्ने मनुजबाबुले जीवनको लामो अवधि एकान्तवासमा स्वाध्याय, कला/साहित्य साधनामा बिताएको कुरा आजका पुस्ताका निमित्त अनौठो लाग्न सक्छ। त्यही एकान्तवासले कलाका अनुपम सिर्जनाका क्यानभासहरू सिर्जित भए।

साहित्यका विविध गहन रचनाहरू सिर्जना भए। समयक्रमसँगै उनका कला सिर्जनामा नवीनता थप्दै लग्यो। आफ्नै जीवनको उतारचढावले धेरै कुरा सिकाएको उनको जीवन र जगत्प्रतिको धारणा पनि फेरिँदै गयो। कला समीक्षकहरूको धारणामा उनी शिल्पभन्दा भित्री विषय पक्षमा बढी ध्यान दिन्थे। उनको कलायात्रा यथार्थवादी धार हुँदै रेखाचित्र, मुहारचित्र, प्रयोगवादी, घनवादी हुँदै अतियथार्थवादी र स्वैर काल्पनिक धारसम्म पुगेको मान्दछन् कला समीक्षकहरू।

इटालीका लियोनार्दो दा भिन्चीले १५०३–१५०७ मा चार वर्ष लगाएर बनाएको ‘मोनालिसा’ चित्रलाई मोनालिसा चित्र शृंखलाअन्तर्गत नेपाली परिवेश र सन्दर्भमा तयार गर्ने काम के चुनौतीपूर्ण थिएन र? उनी कलामा विविध प्रयोग गर्न रुचाउने स्रष्टा हुन् भन्ने कुरा उनका ती कालजयी कलाकृतिले आज बताइरहेका छन्। कलामा आफू व्यक्तिगत रूपमा पोखिनु उनको शौख देखिन्छ। उनी यसरी आफ्ना कला सिर्जनाहरूमा पोखिन्छन् कि मानवीय दुर्गुणहरू देखाउन उनी आफूले आफैँलाई विद्रूप, पशु र एक खुँखार जनावरको रूपमा प्रस्तुत गर्ने हिम्मत राख्दछन्।

मोनालिसा शृंखलाको एक नमुना

आफ्नो माध्यमबाट उनले समस्त मानव जातिको सकारात्मक वा नकारात्मक पक्षलाई उदांगो पार्न चाहेको बुझ्न सकिन्छ। आफ्नो कलाको आफू नै मूल विषयवस्तु बनेर प्रस्तुत हुने शैली सायद कमै कलाकारमा होला। मनुजबाबु व्यक्ति, समाज र विश्वको यथार्थलाई विभिन्न प्रतीक, बिम्ब र मिथकको प्रयोग गरेर कुशल ढंगले अभिव्यक्त गर्दछन्।

उनका केही चित्रहरूको अध्ययन गर्दा उनले आफूलाई नास्तिक माने पनि उनका चित्रका मूल विषयवस्तुमा भने सनातन हिन्दु धर्मका देवदेवी र प्रतीकहरू प्रचुर रूपमा प्रयुक्त भएको देखिन्छ। उनी जन्मे, हुर्के, बढेको धार्मिक परम्परा, रीतिथिति, संस्कार र संस्कृतिको उनमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्नु स्वाभाविक हो। सनातनदेखि चल्दै आएका संस्कृति र संस्कारमाथि बढ्दै गएको बाह्य प्रभाव वा अतिक्रमणप्रति पनि चिन्तित भएर उनले कला सिर्जना गरेका छन्। उनका धेरै चित्रहरूमा प्रयुक्त भएको त्रिशूलको विम्बात्मक अर्थ खोज्ने हो भने उनका कलाले थप अर्थ दिन्छन्।

साहित्यमा मनुजबाबु

‘शब्द भाषा हो, भाषा साहित्य र अर्थ कला हो। अतः कला र साहित्य मानव जातिको व्यापक भाषा हो’ भनेर साहित्य र कलाको अन्योन्याश्रित सम्बन्ध हुने तथ्य उजागर गर्ने मनुजबाबु एक सशक्त शब्दशिल्पी हुन् भन्ने कुरा उनका अनगिन्ती लेख, निबन्ध र उपन्यासले प्रमाणित गरिसकेका छन्। २०५६ सालमा प्रकाशित ‘स्वप्न सम्मेलन’ उपन्यासले उनमा रहेको बौद्धिक र विशिष्ट आख्यान क्षमता देखाइसकेको छ।

पत्नीसँगको पोट्रेटमा मनुजबाबु

२०३६ सालमा बाल चित्रकथा पुस्तक लेखनबाट सुरु भएको उनको पुस्तक लेखन कला, साहित्य, दर्शन आदि हुँदै २०६३ मा ‘म र मेरो परम्परा’ निबन्ध संग्रहमा आएर टुंगिएको छ। उनका ६ निबन्ध संग्रहबाट चुनिएका निबन्ध संग्रह २०७७ सालमा ‘एकालानुभूति’ नामकरणमा प्रकाशित भएको छ। निजात्मक तथा आत्मपरक निबन्ध लेख्नु मनुजबाबुको विशेषता हो। उनका निबन्धमा विचार, भावना र व्यङ्ग्य मिश्रण भएकोले ती सान्दर्भिक, सरस र तार्किक छन्। रूढिग्रस्त समाजका विसङ्गति र वेथितिप्रति धारिलो प्रहार गर्ने उनी कलात्मक ढङ्गमा आशावादी स्वर प्रस्फुटन गर्न छोड्दैनन्। एक निर्भीक लेखकका रूपमा उनी वेथितिविरुद्ध विद्रोहको स्वर मुखरित गर्दछन्।

सम्झनामा ‘मनुजबाबु दाइ’

एकै गाउँघरको भएकोले मैले मनुजबाबु मिश्रको नाम सानैदेखि घरमा बाआमाबाट सुन्ने गरेको थिएँ। खासगरी मेरो बा मनुजबाबुको तारिफ गरेर थाक्नुहुन्नथ्यो र मलाई पनि चित्रकारी सिक्न जान हौस्याउनुहुन्थ्यो। जान पनि नगएको होइन त्यो मिश्र निवासमा, तर ध्यान दिएर सिकेको भए पो हुन्थ्यो! त्यो घरमा गएपछि खाजा नखाई आउन पाइन्नथ्यो। शायद मेरो ध्यान सिक्नेभन्दा खाने कुरामा गयो होला त्यतिखेर। यो कुरा म गर्दै छु २०२९/३० सालतिरको, जुन बेला म किशोर वयमा प्रवेश गर्दै थिएँ।

महांकालका बुद्धिजीवी मिलेर (त्यसमा मनुजबाबुको नेतृत्वदायी भूमिका नै रहेको बुझ्थेँ) एउटा उच्चकोटिको पुस्तकालय सञ्चालनमा थियो महांकाल मन्दिर छेउको पाटीमा। पुस्तकालयको नाम थियो- ज्ञान प्रभात पुस्तकालय! आरुबारीका रमेश विकलदेखि महांकालका मनुजबाबुसम्म यो पुस्तकालयमा आउने, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको देखेको थिएँ। देवकोटा जयन्तीजस्ता विभिन्न कार्यक्रमहरू नियमित रूपमा आयोजना हुन्थ्यो। गोष्ठीहरू हुन्थे। म उक्त पुस्तकालयको नियमित पाठक थिएँ। त्यहाँ पनि भेट हुन्थ्यो नै। महांकालको ठूलो चौर अनि त्यो चौरमा हरेक वर्षजस्तो आयोजना हुने नाटक, संगीत आदिको कार्यक्रममा पनि उनी अग्रपंक्तिमा रहेर सक्रिय रहेको देख्थेँ।

मनुजबाबुको चित्रकलाको एक नमुना र उनको अतियथार्थवादी चित्रकला।

विश्वनाथ न्यौपाने ‘कौडिन्य’ (मेरा नेपाली भाषा व्याकरणका श्रद्धेय गुरु) ले लेखेको ‘अहिल्या उद्धार’ नाटक हुँदै थियो कुनै वर्ष र त्यसको निर्देशन र तारतम्य मनुजबाबु गर्दै थिए। यसमा खेल्ने कलाकारहरू (सायद त्यसमा खेल्नेमा परीक्षित ढुंगाना, गणेश न्यौपाने ‘मुनाल’, विष्णुभक्त फुँयाल, नारायण पौडेल आदि स्थानीय कलाकार थिए।

कालान्तरमा ढुंगाना, न्यौपाने र फुँयाल नेपाली रंगमञ्च र सानो/ठूलो पर्दाका सशक्त कलाकार भए) लाई नाटकको दृश्य स्केच बनाउँदै महांकाल मन्दिरको डिलमा बसेर बुझाएको सम्झना आज पनि ताजै छ। हामी केटाकेटी कौतूहलका साथ छेउमा उभिएर हेर्दै थियौँ, चकित परेर। सायद मुख्यमुख्य दृश्यमा को कहाँ हुनुपर्छ भनेर बताएको होला जस्तो लाग्छ। अपसोच! त्यो बेला के के भएको थियो सोध्न पनि आज सो नाटकका लेखक, निर्देशक र कलाकारहरू कोही पनि हामीमाझ जीवित छैनन्।

गाउँका दाइहरू नियमित रूपमा मनुजबाबुको घरमा जान मन गर्थे र म पनि उनीहरूको पछि लागेर त्यहाँ धेरै पटक पुगेको छु। राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा दशरथ रंगशालामा देखाइने मास क्यालेस्थेनिक्सका अवसरमा प्यारापिटबाट स्टन्ट मिलाएर देखाउनको लागि विभिन्न रङ्ग र चित्रहरूको संगम गराउन मनुजबाबुले पनि सायद केही काम पाएकाले उनको घरबारीभरि क्यानभासमा विभिन्न चित्र र रङको गज्जबको उपस्थिति थियो। हामी पनि त्यो स्टन्टमा रङ घस्न पुगेका थियौँ। बारीका पाटामा सुकाएर त्यस्तो चित्रकारी रंगशाला लैजानुपर्ने रहेछ। म पनि गाउँका दाइहरूसँग एकदुई पटक यस्तो रङ घस्न मनुजबाबुको घर पुगेको सम्झना छ।

मेरो सम्झनामा उनी हामीजस्ता बालक/किशोरहरूलाई सधैँ केही सिक्न सधैँ प्रोत्साहन गर्ने र सकारात्मक काम गर्न उत्प्रेरित गर्दथे। उनी गुप्तवास बस्न थालेपछि भने भेट्न कि त कलाकुटीमै जानुपर्थ्यो, अरू ठाउँमा भेटिने सम्भावना थिएन। कहिलेकाहीँ मर्निङ वाकमा भेटिन्थ्यो। त्यो पनि बिस्तारै कम हुँदै थियो।

उनका सिर्जनाहरू/कलाहरू हेरेर पनि त्यतिबेला जति बुझ्न सकिन्थ्यो, बुझियो तर अहिलेको दृष्टिबाट हेर्दा यति उच्चस्तरको कला सर्जकको केही समय भए पनि संगतमा बस्न पाउनु अहोभाग्य नै रहेछ भन्ने लाग्दछ। मेरो रुचि विशेष गरेर साहित्यतर्फ भएकोले उनका साहित्यिक लेखरचना म खोजीखोजी पढ्दथेँ।

मलाई निबन्ध लेखनमा उनी एक बेजोड प्रतिभा लाग्दथे र आज पनि उनी जत्तिको निबन्ध लेख्ने प्रतिभाहरू ज्यादै कम भएको पाउँछु। नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, पारसमणि प्रधान, रामकृष्ण शर्मा, भैरव अर्याल, ताना शर्मा आदि निबन्धकारसँगै उनको नाम पनि लिनुपर्दछ भन्ने मेरो मान्यता छ।

२०७५ साउन २३ गते मनुजबाबु दिवंगत हुँदा म बर्लिन, जर्मनीमा कार्यरत थिएँ। उनको निधनको समाचार अनलाइनबाट थाहा पाएँ। कार्यावधि सकिएर नेपाल फर्किएपछि कलाकुटीमा भेट्न जाने मेरो धोको अधुरो रह्यो। उनका विशिष्ट सिर्जनाका कला र साहित्यका कृति र स्मृतिलाई निरन्तर रूपमा बचाएर राख्न ‘मिश्र संग्रहालय’ स्थापना गर्ने कार्यमा दिनरात खटिएर लागेका रोशन भाइको प्रयासलाई हरसम्भव सहयोग र समर्थन गर्नु ‘मनुज दाइ’ (हामी सबै ‘दाइ’ भन्थ्यौँ) प्रति हामी सबैको साँचो श्रद्धाञ्जली हुने ठानेको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast