फाइल तस्बिर
काठमाडौँ – इरानले बिहीबार कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको छ। इरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको थप आक्रमणको चेतावनीका बाबजुद युद्ध सुरु भएको ६ महिनापछि तनाव बढेको हो।
आइतबारदेखि सुरु भएका अमेरिकी आक्रमणसँगै नयाँ भिडन्तले युद्धको जारी गतिरोधलाई गम्भीर बनाएको छ। इरानले रणनीतिक हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा जवाफी नाकाबन्दी अगाडि बढाइरहेको छ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अमेरिकी सैन्य बलले जुनसुकै बेला चाहन्छ त्यो वेला इरानमाथि आक्रमण गर्न तयार छ।’ मंगलबारदेखि बुधबारसम्म देशभरका स्थलहरूमा व्यापक अमेरिकी बम आक्रमणपछि कम्तीमा १९ इरानीको मृत्यु भएको छ।
तेहरानले यस हप्ता फेरि मध्यपूर्वभरि आक्रमण गरेको छ र संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, जोर्डन र इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी आधार तथा बलहरूलाई निशाना बनाएको बताएको छ।
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले बुधबार अमेरिकालाई चेतावनी दिएक छन्, ‘इरानले युद्धमा ‘नयाँ रणनीति’ अपनाएको छ जसले ‘तिम्रा जगहरू चकनाचुर पार्नेछ’।
इरानको दक्षिणी भागमा विवाह समारोहमा आक्रमण भएपछि तेहरान आक्रोशित भएको थियो। अमेरिकी आक्रमणको बदलामा इरानले खाडी क्षेत्रभरिका अमेरिकी सैन्य लक्ष्यहरूमाथि प्रहार गरेको छ।
इरानी रेड क्रिसेन्टका अनुसार कुहेस्तक नामक तटीय सहरमा क्षेप्यास्त्र आक्रमणबाट आएको छर्राबाट एक बालकसहित चार जनाको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन्।
अमेरिकी सैन्य बलले यस आक्रमणलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेको छैन।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले भने, ‘अमेरिकी सैन्य बल आईआरजीसी (इरानी रिभोलुसनरी गार्ड) जस्तो नभएको र यसले कहिल्यै इरानी नागरिकलाई निशाना बनाउँदैन।’
कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकिरहेको बताएको छ भने इरानी सेनाले ‘कुवेतको अहमद अल–जाबेर’ सैन्य शिविरमा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरेको बताएको छ।
इरानी सेनाले संयुक्त अरब इमिरेट्सको ‘अल मिन्हद एयर बेस’ मा पनि प्रहार गरेको दाबी गरेको छ तर युएईले यस्तो आक्रमण भएको बताएको छैन।
कुवेतले आक्रमणलाई ‘आफ्नो सुरक्षा तथा स्थिरता, आफ्ना नागरिक र बासिन्दाको सुरक्षामाथि प्रत्यक्ष खतरा र अन्तर्राष्ट्रिय कानुनका नियमको गम्भीर उल्लंघन’ भनेको छ।
सैन्य कारबाहीका अतिरिक्त वासिङ्टनले आर्थिक नाकाबन्दी लगाएर इरानको अर्थतन्त्रलाई संकटमा पार्ने वाचा गरेको छ र यसका व्यापार साझेदारहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
ऊर्जामन्त्री क्रिस राइटले बुधबार इरानका आर्थिक साझेदारलाई लक्षित विस्तारित प्रतिबन्ध योजनाले ‘पूर्ण रूपमा अधिकतम दबाब’ दिने बताएका छन्।
राष्ट्रपति ट्रम्पले बुधबार इरानको हर्मुज जलमार्गका नामले चिनिने प्रमुख समुद्री मार्गको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने सुझाव पनि दिएका थिए।
तेहरानले हर्मुज जलमार्गलाई छ महिनादेखि प्रभावकारी रूपमा बन्द गरेको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले यसलाई गम्भीर नभएको संकेत दिए।
‘अब यो संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा छ, हामीले ‘हर्मुज स्ट्रेट’को नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विवाह समारोहमाथिको आक्रमणलाई लिएर वासिङ्टनविरूद्ध कडा आलोचना गर्दै अमेरिकालाई ‘सैतान’ को संज्ञा दिएका छन्।
‘यदि कुनै शक्ति सैतानजस्तो व्यवहार गर्छ, सैतानजस्तो लक्ष्य छान्छ र सैतानजस्तो मार्छ भने त्यो सैतान नै हो,’ उनले एक्समा लेखेका छन्।
यसैबीच इरानी सर्वसाधारणहरू पुनः हिंसात्मक गतिविधि हुन थालेपछि निराश देखिएका छन्।-रासस/एएफपी


