चीनतर्फ केरुङ बन्दरगाहसम्मको सडक खुल्यो, यसरी हुँदै छ उद्धार

हिमाल प्रेस १८ भदौ २०८३ १४:२५ | Thursday, September 3, 2026
चीनतर्फ केरुङ बन्दरगाहसम्मको सडक खुल्यो, यसरी हुँदै छ उद्धार चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीस्थित राष्ट्रिय राजमार्ग जी–२१६ हुँदै भारी मेसिनरी ग्यिरोङ बन्दरगाहको मुख्य विपद् प्रभावित क्षेत्रमा प्रवेश गर्दै। तस्बिर साभार : ग्लोबल टाइम्स

काठमाडौँ- दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुग्ने स्थलमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक खुलेपछि उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा मेसिनरी सामान सडकमार्फत विपद्को केन्द्रसम्म पुग्न थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

राष्ट्रिय राजमार्ग जी–२१६ मा सडक खुलाउने काम विपद्को केन्द्रसम्म पुगेको छ। त्यहाँ विभिन्न विधि र उपकरणको समन्वित प्रयोगबाट खोज तथा उद्धार भइरहेको छ। बाढीका कारण अवरुद्ध सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएपछि मेसिनरीसमेत त्यस क्षेत्रमा प्रवेश गर्न थालेको सीसीटीभी न्युजले जनाएको छ।

केरुङ बन्दरगाहको विपद् प्रभावित मुख्य क्षेत्रमा जी–२१६ सफा गर्ने क्रममा प्रयोग भइरहेको भारी मेसिनरी चिनियाँ पक्षको केरुङ बन्दरगाह भवन रहेको पुरानो स्थाननजिकसम्म पुगेको छ।

लगातार केही दिनको आकस्मिक उद्धार प्रयासपछि मंगलबार जी–२१६ का सडकका केही भाग पुनः देखिन थालेका थिए।

अगस्ट २६ को बिहान सीमावर्ती क्षेत्रको नेपाली भूभागमा गएको पहिरोले केरुङ काउन्टीस्थित बन्दरगाहलाई प्रभावित बनाएको थियो। घटनामा ठूलो मानवीय क्षति भएको र धेरै मानिस बेपत्ता भएको बताइएको छ। विपद्का कारण बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ मा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

उद्धार अभियानको प्रारम्भिक चरणमा उद्धार टोलीले बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पैदलै प्रारम्भिक ‘ग्रिड’ खोजी गर्नुपरेको थियो। ड्रोनमार्फत खोजी गर्नुका साथै हलुका उपकरण हवाई माध्यमबाट पुर्‍याएर उद्धार कार्य सञ्चालन गरिएको थियो। अहिले स्थलमार्ग खुलेपछि बदलिएको परिस्थितिअनुसार उद्धार टोलीले आफ्नो कार्यनीति पनि तत्काल परिवर्तन गरेको ग्लोबल टाइम्सले जनाएको छ।

नयाँ खोज तथा उद्धार रणनीतिअनुसार ठूलो इन्जिनियरिङ मेसिनरीले सबैभन्दा पहिले अवरोध हटाएर काम गर्ने क्षेत्र तयार पार्नेछ। त्यसपछि व्यावसायिक अग्नि तथा उद्धार टोलीले लक्षित क्षेत्रमा खोजी गर्नेछन्। सम्भावित स्थानमा जीवन पत्ता लगाउने उपकरण प्रयोग गरी मानिस जीवित रहेको वा नरहेको यकिन गरिनेछ।

उद्धारकर्मीहरू मेसिनरीको कामसँगै अघि बढ्दै ढुंगाका थुप्रा, पुरिएका संरचना तथा नदी किनारमा थुप्रिएको गेग्रानले ढाकिएका क्षेत्रमा विस्तृत खोजी गरिरहेका छन्। मेसिनले अवरोध हटाउँदै जाने हरेक स्थानमा लक्षित खोज तथा उद्धार कार्य अघि बढाउने गरी टोली परिचालन गरिएको छ।

केरुङ बन्दरगाहसम्मको सडक पुनः सञ्चालनमा आउनुअघि क्षतिग्रस्त सडक बाक्लो हिलोले पुरिएको थियो। यसका कारण ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था थियो भने उद्धारकर्मीलाई पैदल अघि बढ्नसमेत निकै कठिन भएको उद्धार टोलीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

गेग्रानले भरिएका नदीका किनार तथा भिराला पहाडी क्षेत्रमा उद्धार टोलीले खोजी कुकुरसमेत परिचालन गरेका थिए। बांगिएका फलामका डन्डी र विशाल ढुंगाबीचका साँघुरा ठाउँबाट समेत कुकुर लगेर उद्धार टोलीले प्रभावित क्षेत्रमा जीवनको कुनै संकेत खोजिरहेका थिए।

एक उद्धारकर्मीले भने, ‘जहाँ हिलो गहिरो छ, त्यहाँ शरीरको आधा भागसम्म हिलोमा गाडिन सक्छ। प्रत्येक पाइला चाल्दा सम्पूर्ण शक्ति खर्च हुन्छ। तर हामी कुनै पनि कुनालाई छाड्ने छैनौँ।’

हालसम्म जनमुक्ति सेना, चिनियाँ सशस्त्र प्रहरी बल र चाइना एन्नेगलगायतका संस्थाका गरी दुई हजारभन्दा बढी उद्धारकर्मी खोज तथा उद्धार अभियानमा परिचालित भएका छन्।

उच्च भूभाग, भिराला खोँच तथा अस्थिर मौसमजस्ता चुनौती भए पनि उद्धार टोलीले चौबीसै घण्टा काम गरिरहेको सिन्ह्वाले जनाएको छ। टोलीले जीवित व्यक्तिको खोजी गर्नुका साथै सडक मर्मत, सञ्चारका आधारभूत स्टेसन स्थापना तथा विद्युत् लाइन पुनः सञ्चालनको कामसमेत गरिरहेको छ।

आगामी दिनमा अग्नि तथा उद्धार टोलीले अन्य उद्धार शक्तिसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रका अझ गहिरा र विस्तृत स्थानमा खोजी अभियान विस्तार गर्नेछन्। पुरिएका सम्भावित सबै स्थान र खोजीबाट छुट्न सक्ने क्षेत्रलाई पुनः जाँच गर्दै बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइने बताइएको छ।

प्रकाशित: १८ भदौ २०८३ १४:२५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast