इरानले अमेरिका र इजरायललाई किन दियो चेतावनी?

हिमाल प्रेस १२ भदौ २०८३ १९:१५ | Friday, August 28, 2026
इरानले अमेरिका र इजरायललाई किन दियो चेतावनी?

काठमाडौँ- इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिएका छन्।  उनले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताएका हुन्।

इरानी समाचार संस्था आईआरआईबीका अनुसार अल–मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नर्कमा पठाउने’ चेतावनी दिए।

उनले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराको हत्या गर्ने इरानी षड्यन्त्रसम्बन्धी गलत सूचना फैलाएर ट्रम्पको निर्णय प्रक्रियामा प्रभाव पारेको आरोपसमेत लगाए।

लेबनानमा इजरायलसँग पुनः द्वन्द्व भए बेरुतको दहिया क्षेत्रलाई कुनै पनि हालतमा स्वीकार्य नहुने सीमा मान्ने रेजाईले बताए। इजरायलले लेबनानमा कब्जा गरेका क्षेत्रबाट फिर्ता हुनुपर्ने उल्लेख गर्दै उनले भविष्यको युद्ध अघिल्लोभन्दा फरक हुने चेतावनी दिए।

अमेरिकाले सैन्य आक्रमणबाट आर्थिक दबाबतर्फ नीति परिवर्तन गर्नु सैन्य कारबाहीको ‘निरर्थकता’ को प्रमाण भएको रेजाईको दाबी छ।

उनले नाकाबन्दी जारी रहे अमेरिकी आर्थिक हितलाई लक्षित गरी पूर्ण शक्तिका साथ जवाफ दिने चेतावनी दिए। युद्धविरामको अवधिमा इरानले करिब सातदेखि आठ करोड ब्यारेल तेल निर्यात गरेको उनले दाबी गरे।

यसअघि अगस्त २४ मा इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानविरुद्ध अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको स्वागत गरेका थिए। त्यही दिन अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि नयाँ प्रतिबन्ध लगाएको थियो।

रेजाईको अभिव्यक्ति अमेरिका र इरानबीच हाल कुनै वार्ता नरहेको अमेरिकी भनाइपछि आएको हो। ह्वाइट हाउसकी पूर्वप्रेस सचिव क्यारोलिन लेभिटले अर्थपूर्ण वार्ताका लागि इरान तयार नभएसम्म वार्ता अघि नबढ्ने बताएकी छन्। राष्ट्रपति ट्रम्पले भने इरानसँगको विषयमा ‘सबै विकल्प’ खुला राखेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नदिएको र आफू वार्ता पुनः सुरु गर्न ‘हतारमा नरहेको’ बताएका थिए।

उनले इरानमा बढ्दो मुद्रास्फीति र कमजोर अर्थतन्त्रलाई अमेरिकी आर्थिक दबाबको प्रभावका रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित: १२ भदौ २०८३ १९:१५ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast