‘उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्’

हिमाल प्रेस ११ भदौ २०८३ २१:४७ | Thursday, August 27, 2026
‘उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्’

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिने उल्लेख गरेका छन्।

‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्,’ उनले भनेका छन्।

उनले आफू नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएको उल्लेख गर्दै प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको बताए।

‘अवस्था अझै चुनौतीपूर्ण छ। राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्। अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हो,’ उनले भनेका छन्।

सरकारले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कूल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको, यसमा नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ८४५ जना रहेको प्रधानमन्त्रीले बताएका छन्।

साथै उनले नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् न्यूनीकरण र जोखिम व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको पनि उल्लेख गरेका छन्।

‘हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको छ। आज ६९ वटा हवाई उडान सञ्चालन गरी ३५१ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्ड तथा कोअर्डिनेसन प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ। हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।’

प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको जानकारी दिएका छन्।

‘रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ। करिब तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक÷सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्‍याइँदैछ,’ उनले भनेका छन्।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित भएको र रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनको भनाइ छ।

‘स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर र ट्रमा सेन्टरमा १००र१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्री शाहले प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको बताएका छन्। साथै ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका अस्पतालबाट मेडिकल टोली आवश्यक औषधि र उपकरणसहित परिचालन गरिएको र धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

‘प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलामरढुङ्गा काट्ने मेसिनरीलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट समेत त्रिशूलीतर्फ पठाइएको बताएका छन्।

‘दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावररसाइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याई सेवा पुनःस्थापनाको काम भइरहेको छ,’ उनले भनेका छन्।

प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक दुई जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा एनसेलले समेत निःशुल्क भ्वाइसरडाटा र एसएमएस सुविधा उपलब्ध गराएको उनको भनाइ छ। उनले अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको उल्लेख गरेका छन्।

‘सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत तत्काल परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन र पुनःसञ्चालनको काम द्रुत गतिमा अघि बढाउन निर्देशन गरिएको छ,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपिजीडब्ल्यु तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको उल्लेख गर्दै अत्यधिक प्रभावित क्षेत्र र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन भइरहेको बताएका छन्।

‘प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको छ। नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल छ हजार लिटर मौज्दात रहेको छ। आज थप डिजल १५ हजार लिटर र पेट्रोल १५ हजार लिटर पठाइएको छ। हवाई इन्धन आठ हजार लिटर मौज्दात रहेकोमा थप नौ हजार लिटर पठाइएको छ,’ उनले भनेका छन्, ‘प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई अझ लक्षित र प्रभावकारी बनाइँदैछ।’

प्रकाशित: ११ भदौ २०८३ २१:४७ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast