बाढी प्रभावितलाई प्रधानमन्त्रीले भने-तपाईंहरू एक्लो हुनुहुन्न, सरकार र देशबासी साथमा छ

हिमाल प्रेस १० भदौ २०८३ २०:५० | Wednesday, August 26, 2026
बाढी प्रभावितलाई प्रधानमन्त्रीले भने-तपाईंहरू एक्लो हुनुहुन्न, सरकार र देशबासी साथमा छ

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताएका हुन्।

‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसकेका छन्। ‘म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्।

उनले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गरेका छन्।

बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उनको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ।

यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको उनले बताएका छन्।

‘बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उनले यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहने उल्लेख गरेका छन्।

बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिने बताउँदै उनले घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिने जनाएका छन्।

‘नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पु¥याइने छ,’ शाहले भनेका छन्।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने बताउँदै उनले विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ जनाएका छन्।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’

विपद्को बेला सबैलाई एक ढिक्का हुन आग्रह गर्दै उनले सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न अनुरोध समेत गरेका छन्।

प्रकाशित: १० भदौ २०८३ २०:५० | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast