स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु, तीन घाइते

हिमाल प्रेस ८ भदौ २०८३ १७:४१ | Monday, August 24, 2026
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु, तीन घाइते

काठमाडौँ- उदयपुरको बेलका नगरपालिका-५ जहडामा सोमबार स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मदनभण्डारी राजमार्गअन्तर्गत बेल्टार-चतरा सडकखण्डमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको कोप्र ५-१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट आइरहेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा बेलका नगरपालिका-५ की करिब ३४ वर्षीया मन्दिरा मगर र परिचय नखुलेकी एक महिलाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले अटोमा चालकसहित पाँच जना सवार रहेको र सबै घाइते भएको बताए। घाइतेमध्ये दुई जनालाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

दुर्घटनामा अटो चालक बेलका-५ का करिब २८ वर्षीय इन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका-१२ का अजित गुरुङ र बेलका-५ का १८ वर्षीय रोशन मगर घाइते भएका छन्। उनीहरूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बस र बस चालक बेलका-५ का करिब ३६ वर्षीय विक्रम थापा लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: ८ भदौ २०८३ १७:४१ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast