पोखरा- प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ जाने भन्ने समाचार बाहिरिए पनि पोखरामा कहाँ बस्नेबारे सुरुमा जानकारी थिएन।
सर्वसाधारण अनभिज्ञ थिए। उनी कास्कीको पर्यटकीय गाउँ धितालको अस्ताम बास बस्ने कुरा पछि जानकारी आयो।
अस्ताम गाउँ कास्कीको उत्तरी भागमा पर्छ। पोखरा–२५ हेमजा हुँदै जाने अस्तामबाट माछापुच्छ्रे , धौलागिरीसमेतका मनोरम हिमशृंखला नजिकबाट देख्न सकिन्छ।
आफ्नै गाउँको अन्नपूर्ण इको भिलेजमा प्रधानमन्त्रीको परिवार बस्ने थाहा पाएपछि सर्वसाधारण खुसी भए। उनीहरुले नेपाली सेना र नेपाल प्रहरी फाट्टफुट्ट आएको देखे। साँच्चिकै हो रहेछ।
देशकै प्रधानमन्त्रीले आफ्नो गाउँमा पाइला टेक्ने भएपछि सर्वसाधारण गद्गद् बने।
स्थानीय शोभाखर अधिकारीले चाहिँ प्रधानमन्त्रीलाई भेट्न पाए पानी र बाटो माग्ने बताए। गाउँमा अहिले पानीको दुःख छ। पल्लो गाउँ धम्पुसबाट ल्याइएको पानी वर्षामा पुगे पनि हिउँदमा नपुग्ने उनी बताउँछन्।
प्रधानमन्त्री शाह शनिबार हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणमा जाने बताइएको छ। प्रधानमन्त्री शाहको नितान्त निजी भ्रमण भएकाले कास्की र मुस्ताङको सुरक्षा संयन्त्रलाई पनि जानकारी दिइएको छैन।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रधानन्त्री शाह नितान्त पारिवारिक भ्रमणमा आएको र अन्य औपचारिक कार्यक्रम नरहेको बताए।
प्रधामन्त्री शाह परिवारका सदस्यहरुसहित काठमाडौँदेखि स्थलमार्ग हुँदै आएका हुन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, ‘निजी भ्रमण भन्ने कुरा भाको छ, त्यस्तो फर्मल कार्यक्रम छैन।’
तर उनले सुरक्षा तयारी चुस्त अवस्थामा रहेको बताइन्।
प्रधानमन्त्रीको निजी भ्रमण भएकाले धेरै विषय बाहिर नआए पनि उनी बसेको रिसोर्टबारे भने चर्चा परिचर्चा सुरु भएको छ। कतिपयले ‘अब रिसोर्ट चम्किने’ भयो भनेका छन्।
अन्नपूर्ण इको भिलेज रिसोर्ट पछिल्लो समय आफैँमा चर्चित रिसोर्ट हो। यहाँ योग, ध्यानको क्लास हुनुका साथै पाहुनालाई शान्त वातावरणमा बसोबासको व्यवस्था छ।
यहाँ दुई दर्जन रुम रहेको रिसोर्ट संचालक विश्वराज अधिकारी बताउँछन्। विश्वराज अधिकारीका दाजुभाइ मिलेर रिसोर्ट सञ्चालनमा आएको हो।



