विद्युतबाट ग्यास आयात प्रतिस्थापन गर्न सकिन्छ : सांसद न्यौपाने

हिमाल प्रेस २ भदौ २०८३ १२:२८ | Tuesday, August 18, 2026
12
SHARES
विद्युतबाट ग्यास आयात प्रतिस्थापन गर्न सकिन्छ : सांसद न्यौपाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जलविद्युतको प्रचुर सम्भावना भएको नेपालमा खाना पकाउने ग्यासका लागि परनिर्भर रहनु विडम्बनापूर्ण भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ लैजान ऊर्जा नीति, कानुन र कार्ययोजना आवश्यक रहेको बताए।

नेपालका ९५ प्रतिशत भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गरी विद्युतीय ऊर्जातर्फ लैजानुपर्नेमा उनले जोड दिए।

विद्युतीय भान्साको प्रवर्द्धन गर्न सके वार्षिक करिब ६० अर्ब रुपैयाँ बराबरको ग्यास आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ। त्यस्तै, करिब १२ अर्ब रुपैयाँ बराबरको वन तथा काठको बचत गर्न सकिने उनले बताए।

गुइँठाको विकल्पमा बिजुली प्रयोग गर्दा वार्षिक करिब २ अर्ब रुपैयाँ बराबरको जैविक मलसमेत जोगाउन सकिने उनले उल्लेख गरे।

विद्युतीय भान्साको प्रयोग बढाउँदा बिहानबेलुकीको समयमा व्यावहारिक रूपमा ६ हजार मेगावाटदेखि सैद्धान्तिक रूपमा १२ हजार मेगावाटसम्म विद्युत् खपत बढाउन सकिने उनले बताए।

वन तथा वातावरण ऐन ऊर्जा विकासका लागि बाधक बनेको टिप्पणी गर्दै न्यौपानेले भने, ‘रुख काट्न नदिएर जति वातावरण जोगाइन्छ, त्योभन्दा सयौँ गुणा बढी वन र वातावरण विद्युतीय ऊर्जाको प्रयोगबाट पुस्तौँसम्मका लागि संरक्षण गर्न सकिन्छ।’

नेपालमा स्रोत, प्रविधि, जनशक्ति र निजी क्षेत्रको तत्परता हुँदाहुँदै पनि ऊर्जा दृष्टि र ठोस योजनाको अभावमा विकास अवरुद्ध भएको उनको दाबी छ।

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन र प्रतिव्यक्ति १ हजार ५०० युनिट विद्युत् खपतको लक्ष्य हासिल गर्ने विषयमा सरकारले रोडम्याप बनाउन नसकेको भन्दै उनले सरकारको इच्छाशक्ति र नेतृत्वमाथि प्रश्न उठाए।

ऊर्जा विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन माग गर्दै न्यौपानेले वन, जग्गा तथा प्रक्रियागत अवरोध हटाउन ‘ऊर्जा विकास दशक’ र ‘संकट ऐन’ ल्याउन सरकारको ध्यानाकर्षण गराए।

नेपालीले पसिना बगाएर कमाएको रकम विदेशी इन्धन आयातमा खर्च गर्नुको साटो स्वदेशी विद्युत् उत्पादन र खपत बढाउन प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २ भदौ २०८३ १२:२८ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast