काठमाडौँ- नेपालको तीन दिने भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धिरज सेठ सोमबार विभिन्न कार्यक्रममा सहभागी भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार नेपाल आएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरे।
नेपाल र भारतबीच सन् १९५० देखि एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो।
त्यसअघि सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति सिग्देलबीच जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल–भारतबीचको आपसी हित तथा पारस्परिक समबन्धका विषयमा छलफल भएको थियो।

भारतीय स्थल सेनाध्यक्ष सेठ सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा पुष्पगुच्छा चढाएर वीर सहिदप्रति श्रद्धाञ्जली गरेका थिए। त्यस्तै सेना मुख्यालय जङ्गीअड्डा पुगेर सम्मन गारत ग्रहण गर्नुका साथै निरीक्षण गरेका थिए। सेठले जङ्गीअड्डा परिसरभित्र वृक्षारोपणसमेत गरे।
यसैबीच सैनिक श्रीमती संघ (नेपाली सेना) ले भारतीय स्थल सेनाध्यक्ष सेठकी पत्नी कोमल सेठलाई सम्मान गरेको छ। संघको कार्यालयमा कोमललाई सम्मान गरिएको हो।
उक्त अवसरमा संघकी अध्यक्ष निता क्षेत्री सिग्देल र कोमल सेठबीच शिष्टाचार भेटघाट समेत भएको थियो।

भेटघाट तथा सांस्कृतिक कार्यक्रममा संघका उपाध्यक्षहरू, सल्लाहकारहरू तथा कायकारिणी पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



