राष्ट्रिय सम्मेलनबाट कांग्रेस इतर समूहले तय गर्‍यो आगामी राजनीतिक बाटो

हिमाल प्रेस ३१ साउन २०८३ १६:०१ | Sunday, August 16, 2026
18
SHARES
राष्ट्रिय सम्मेलनबाट कांग्रेस इतर समूहले तय गर्‍यो आगामी राजनीतिक बाटो

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहको दुईदिने राष्ट्रिय सम्मेलन पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। यही साउन २९, ३० र ३१ गते भएको सम्मेलनले पार्टीको १५औँ महाधिवेशनदेखि राष्ट्रियता, लोकतन्त्र, धर्मसंस्कृति र संविधान संशोधनसम्मका विषय समेटिएका प्रस्ताव पारित गरेको हो।

सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा उक्त महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाको सभापतित्वमा गर्ने प्रस्ताव पारित गरेको छ। देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्भव हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।

१५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजक शशांक कोइरालाले संयोजन गर्दै जाने प्रस्ताव पारित गरिएको छ।

गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति चयन भए पनि संस्थापन इतर समूहले त्यसलाई स्वीकार गरेको छैन। उक्त विषयमा समूहले पुनरावेदनसमेत दिएको छ भने सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने आदेश गरिसकेको छ। यही पृष्ठभूमिमा इतर समूहले देउवालाई नै पार्टीको सभापति मान्दै १५औँ महाधिवेशन उनकै नेतृत्वमा गर्ने निर्णय गरेको हो।

सम्मेलनले राष्ट्रिय संकटको अवस्थामा लोकतन्त्रवादी तथा राष्ट्रिय शक्तिहरूसँग संवाद र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने प्रस्ताव पनि पारित गरेको छ।

२०३३ सालमा बीपी कोइरालाले तत्कालीन राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै अहिले पनि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकालिएको छ। यस्तो अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावसमेत पारित गरेको छ। प्रस्तावमा नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चिततामा जोड दिइएको छ।

हिन्दु, बौद्ध, किरात र प्रकृतिलगायत नेपालमा परम्परादेखि चलिआएका धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता सम्मेलनले जनाएको छ।

सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै व्यवस्था भएअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने प्रस्ताव पनि पारित गरेको छ। संविधान संशोधनको विषयमा राजनीतिक दल तथा सरोकारवाला पक्षसँग संवाद गर्दै आवश्यक सुधारका लागि अघि बढ्ने सम्मेलनको निष्कर्ष छ।

सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावहरूलाई आवश्यक परिमार्जनसहित लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल सहयोगी रहनेछन्।

प्रकाशित: ३१ साउन २०८३ १६:०१ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast