काठमाडौँ- नेपाली कांगेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिक अवस्था संवेदनशील अवस्थामा रहेको बताएका छन्।
संस्थापनइतर समूहले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संवेदनशील राजनीतिक अवस्थामा कांग्रेस एकजुट हुनुपर्ने उल्लेख गरे। नागरिकमा व्यापक निराशा देखिएको बताउँदै उनले देशकै पुरानो पार्टी भएकोले यस्ता निराशा चिर्न कांग्रेसले भूमिका खेल्नुपर्ने जिकिर गरे।
देउवाले विगतका राजनीतिक इतिहास नभुल्न युवा पुस्तालाई आग्रह गरे। विगतमा केही नभएको भन्ने भाष्य निर्माण गर्दा कसैलाई क्षणिक फाइदा भए पनि मुलुकलाई क्षति हुने उनले बताए।
देउवाले सबै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकोमा आफूलाई गर्व रहेको बताए। परिवर्तनमा अन्य राजनीतिक दलहरूको भूमिकालाई उनले सम्मान गरे।
उनले विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको बताए। यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकोले धेरै टिप्पणी नगर्ने बताउँदै उनले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
कांग्रेसभित्र भावनात्मक एकता आवश्यक रहेको उनको भनाइ छ। देउवाले व्यक्तिगत आग्रह पूर्वाग्रहबाट माथि उठेर पार्टी एकताका लागि आह्वान गरे।
पूर्वप्रधानमन्त्री देउवाले साझा उद्देश्य र संकल्प रहेका राजनीतिक दल तथा व्यक्तिसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनको मूल आदर्श रहेको बताउँदै उनले यसमा आफू सधैँ अटल रहने जिकिर गरे।
देउवाले आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रको खिलाफ जान नसक्ने बताएपछि जेल हालेको प्रसंग उल्लेख गरे।
‘मैले राजा ज्ञानेन्द्रलाई भनेकै हो– सरकार सबैथोक मान्न सकिन्छ तर प्रजातन्त्रको खिलाफ जान सकिँदैन, प्रजातन्त्रको खिलाफमा म कुनै पनि हालतमा कसैलाई मान्दिनँ, प्रजातन्त्र मेरो आदर्श हो,’ देउवाले भने,‘त्यसपछि शाही आयोग गठन गरेर राजाले मलाई जेल हाल्यो। न्यायलयले नै सर्वोच्च अदालतले नै मलाई जिताएको हो। त्यसकारण न्यायालयमाथि मेरो अटुट विश्वास छ।’
विद्यार्थी बेलादेखि नै आफूहरूले अदालतबाटै न्याय पाएकोले अहिले पनि विश्वास रहेको धारणा राखे।
देउवाले गणतन्त्र ल्याउनमा राजाको ठूलो हात रहेको बताए।
‘अब पनि राजा आउँछ भनेर हुन्छ? अहिले जो गणतन्त्र आएको छ त्यो नेपाली जनताबाट आएको हो,’ उनले भने,‘गणतन्त्र ल्याउनमा राजाको ठूलो हात छ भन्दै छु म। प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ सरकार, बेलायतको राजा कसरी बसेको छ भनेपछि मलाई थुनिदिए। राजाले संवैधानिक राजतन्त्र नमानेपछि मैले के गर्ने?’


