काठमाडौँ- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ।
बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरुको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पारेकी हुन्।
सातामा दुई दिनको बिदाले सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन, उर्जा (विद्युत्, सवारी इन्धन) तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न सहयोग पुगेको उनले बताइन्। साथै उनले कर्मचारी तथा श्रमिकको कार्यजीवन सन्तुलन अभिवृद्धि हुनुका साथै मनोबल, कार्यकुशलता र उत्पादकत्वमा सकारात्मक प्रभाव परेको दाबी गरिन्।
दुई दिनको बिदाका कारण छोटो अवधिको भ्रमण बढेर आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीय अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुगेको उनले बताइन्।
बैठकमा राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिइनुले के कति फाइदा वा नोक्सान भएको छ भन्दै प्रश्न गरेका थिए।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग नियमित प्रश्नउत्तरको कार्यक्रम राख्न विपक्षी दलले माग गरिरहेका बेला राष्ट्रियसभामा पनि प्रधानमन्त्री कार्यालयसँग सम्बन्धीत सांसदको प्रश्नको उत्तर कानूनमन्त्री गौतमले दिएकी हुन्।


