करार शिक्षक कर्मचारीको म्याद थपका लागि विवरण मागियो

हिमाल प्रेस २७ साउन २०८३ १०:३४ | Wednesday, August 12, 2026
166
SHARES
करार शिक्षक कर्मचारीको म्याद थपका लागि विवरण मागियो सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी । फाइल तस्बिर ।

काठमाडौँ- मकवानपुरको बैकैयाँ गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक तथा कर्मचारीको करार म्याद थपसम्बन्धी प्रक्रिया अघि बढाएको छ।

गाउँपालिकाको शिक्षा शाखाले शिक्षा नियमावली, २०५९ (दसौँ संशोधनसहित) को नियम ९७ को उपनियम ३ बमोजिम एक शैक्षिक सत्रका लागि करारमा नियुक्त भई कार्यरत जनशक्तिको करार म्याद थपका लागि विद्यालयहरूसँग विवरण माग गरेको हो।

गाउँपालिकाले जारी गरेको पत्रअनुसार स्वीकृत दरबन्दीमा कार्यरत करार, राहत अनुदान, एकमुष्ट अनुदान, संघीय अनुदान, प्रदेश अनुदान तथा पालिका अनुदानअन्तर्गतका शिक्षकसँगै बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको समेत करार म्याद थपसम्बन्धी विवरण माग गरिएको छ।

विद्यालय कर्मचारीतर्फ लेखापाल, विद्यालय नर्स, ल्याब असिस्टेन्ट, होस्टेल वार्डेन, सुरक्षा गार्ड र कार्यालय सहयोगीलगायतलाई समेटिएको छ।

नियमावलीको उपनियम ८ मा रहेको व्यवस्थाअनुसार एकपटकमा ६ महिनासम्म करारको म्याद थप गर्न सकिने प्रावधानलाई आधार बनाउँदै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी म्याद थप गर्ने वा नगर्ने सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

गाउँपालिकाले म्याद थप गरिएको वा नगरिएको पत्र तथा सम्बन्धित शिक्षक कर्मचारीको व्यक्तिगत र शैक्षिक योग्यताको प्रमाणपत्रसहितको विवरण २०८३ साल साउन मसान्तभित्र तोकिएको ढाँचामा विद्यालयको लेटरप्याडमा तयार गरी गाउँपालिकाको शिक्षा शाखामा पेस गर्न भनेको छ। साथै उक्त विवरण IEMIS मा समेत अद्यावधिक गर्न निर्देशन दिइएको छ।

निर्धारित समयमा विवरण प्राप्त नभए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ। गाउँपालिकाका शैक्षिक शाखा अधिकृत आयतराम तामाङले हस्ताक्षर गरेको पत्रमा सबै सामुदायिक विद्यालयलाई तोकिएको प्रक्रिया र समयसीमाभित्र विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

गाउँपालिकाले पत्रको बोधार्थ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर र शिक्षा विकास तथा समन्वय एकाइ, हेटौँडालाई समेत पठाएको छ।

प्रकाशित: २७ साउन २०८३ १०:३४ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast