काठमाडौँ- फिल्म ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। गीतमा बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको छ। साथै, अशोक दर्जीले पनि स्वर दिएका छन्। उनी फिल्मका अभिनेतासमेत हुन्।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीले अभिनय गरेका छन्। कारुणिक भाव प्रस्तुत गरिएको गीतमा दिदी–भाइबीचको प्रेम र आत्मीयतालाई समेटिएको छ। रक्षाबन्धनको अवसरमा हलमा आउने यो फिल्ममा दिदी–भाइबीचको माया र सम्बन्धलाई प्रस्तुत गरिएको छ।
नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा मुख्य भूमिकामा निर्देशक ढुंगाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ।
फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता हुन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलरको काम साहिल खानले गर्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।


