काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार नेपालका चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गरेका छन्।
बिहान भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका प्रधानमन्त्री शाहले त्यसको केही घण्टापछि नेपालका लागि चीनका राजदूत झाङलाई पनि शिष्टाचार भेट दिएका हुन्।
राजदूत झाङले पनि समूहमा बाहेक प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको चिनियाँ राजदूतसँगको भेटमा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँग नेपालको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय र चिनियाँ राजदूतसँग एउटै दिन भएको भेटलाई प्रधानमन्त्री शाहको छिमेक सम्बन्धप्रतिको प्राथमिकताका रूपमा समेत हेरिएको छ।
नेपालका दुई प्रमुख छिमेकीसँगको सम्बन्धलाई सन्तुलित, पारस्परिक हितमा आधारित र विकास साझेदारीसँग जोडेर अघि बढाउने चुनौती नयाँ सरकारसामु छ।
काठमाडौँ महानगरमा मेयर हुँदा भएका बेला चिनिया राजदूतसँगको छलफल र अहिले प्रधानमन्त्रीका रूपमा चिनियाँ राजदूतसँग भएको भेटबीच विषयगत रूपमा एउटा निरन्तरता देखिन्छ- नेपाल र चीनबीचको सम्बन्धलाई पूर्वाधार, प्रविधि, सहरी विकास र नागरिकस्तरको सम्बन्धसँग जोड्ने प्रयास।
प्रधानमन्त्रीका रूपमा शाहले अहिले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यससँगै भारत र चीन दुवै छिमेकीसँग उच्चस्तरीय संवादलाई अघि बढाउने उनको सक्रियताले आगामी दिनमा नेपालको छिमेक नीति कसरी अघि बढ्छ भन्ने चासोसमेत बढाएको छ।
नेपालका लागि चुनौती भनेको दुई ठूला छिमेकीसँगको सम्बन्धलाई प्रतिस्पर्धाको दृष्टिले होइन, नेपालको राष्ट्रिय हित, आर्थिक विकास र पूर्वाधार निर्माणका अवसरसँग जोडेर अघि बढाउनु हो। प्रधानमन्त्री शाहका पछिल्ला भेटवार्ताले पनि नेपालले दुवै छिमेकीसँग सहकार्यको नयाँ आधार खोजिरहेको संकेत गरेको छ।
महानगर प्रमुख हुँदादेखि नै राजदूतसँगको भेट
चिनियाँ राजदूतसँग प्रधानमन्त्री शाहको अहिलेको भेट नयाँ भए पनि चीनसँगको सम्बन्ध र सहकार्यका विषयमा उनको चासो भने प्रधानमन्त्री बन्नु अघिदेखिकै हो।
काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका बेला तत्कालीन चिनियाँ राजदूत चेन सङसँग भएको भेटमा शाहले काठमाडौँ उपत्यकाका मौलिक सम्पदा र निर्माण शैलीलाई चिनियाँ सहरमा समेत प्रवर्द्धन गर्न चाहेको बताएका थिए।
त्यतिबेला शाहले काठमाडौँसँग चीनका सात सहरको भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै त्यस्तो सम्बन्ध नागरिकले अनुभूति गर्न सक्ने खालको हुनुपर्ने धारणा राखेका थिए। नेपालका मठमन्दिर तथा मौलिक भवनको निर्माण शैली चिनियाँ सहरमा प्रवर्द्धन गर्न सकिने उनको प्रस्ताव थियो।
उनले नेपाल र चीनबीचको सम्बन्धलाई केवल सरकार–सरकारबीचको सम्बन्धमा सीमित नगरी नागरिकस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। दुवै देशका नागरिकले मनाउने पर्व, भेषभूषा र खानपानमा रहेका समानतासमेत सम्बन्ध विस्तारका आधार बन्न सक्ने उनको भनाइ थियो।
महानगर प्रमुख रहेका बेला चिनियाँ राजदूतसँगको कुराकानीमा शाहले सहरी विकास, विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन र आधुनिक प्रविधिको प्रयोगलगायतका विषयमा समेत चासो देखाएका थिए।
राजदूत चेन सङले पनि काठमाडौँको समृद्धि र सहरी सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका थिए। सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउन चीनको अनुभव उपयोगी हुन सक्ने उनको भनाइ थियो।


