काठमाडौँ विश्वविद्याल
काठमाडौँ- गैरआवासीय नेपाली प्राज्ञहरूको संस्था ‘ब्रिज नेपाल’ ले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन्। उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वार्थको द्वन्द्वबाट ग्रसित भएको भन्दै ब्रिज नेपालले तत्काल हस्तक्षेप गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।
बेलायतमा कार्यरत नेपाली अनुसन्धानकर्ता तथा प्राज्ञहरूको तर्फबाट विज्ञप्ति जारी गर्दै संस्थाले उपकुलपति चयन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन अपिल गरेको हो।
उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रारम्भिक कदम आशालाग्दो भए पनि हालै विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा भएका नियुक्तिहरू नातावाद, कृपावाद र राजनीतिक स्वार्थबाट प्रेरित देखिएको ब्रिज नेपालको भनाइ छ। विश्वस्तरको बौद्धिक नेतृत्व चयन गर्नुको सट्टा दलीय निकटताका आधारमा नियुक्ति दिइएको भन्दै प्राज्ञिक समुदायले चिन्ता व्यक्त गरेको छ।
उपकुलपति छनोट प्रक्रियालाई ‘नाटक‘ को संज्ञा दिँदै सर्टलिस्टमा परेका विदेशी विश्वविद्यालयका उम्मेदवारले अन्तर्वार्ता नै बहिष्कार गरेको घटनाप्रति ब्रिज नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत २२ जुलाई २०२६ मा छनोट समितिका सदस्य आफैँ धुलिखेल अस्पताल पुगेर निश्चित उम्मेदवारलाई अल्पसूचीमा पार्न सहमति गरेको आरोप लगाउँदै यो कार्यले छनोट प्रक्रियाको मापदण्ड र ‘स्वार्थको द्वन्द्व‘ सम्बन्धी प्रावधानको ठाडो उल्लंघन गरेको दाबी गरिएको छ।
अन्तिम अन्तर्वार्ता सत्र कुनै पनि विषय विज्ञको उपस्थितिबिना सञ्चालन गरिएको र निर्णयकर्ता पदधारीहरूसँग आवश्यक उच्च शैक्षिक उपाधि (पीएचडी) तथा योग्यता जाँच्ने अनुभव समेत नरहेको विज्ञप्तिमा उल्लेख छ।
केयूको बहिर्गमित नेतृत्वले ४५० शय्याको आफ्नै शिक्षण अस्पताल बनाउन स्रोत सुनिश्चित गरेलगत्तै सो योजना तुहाउने उद्देश्यले स्वार्थ समूह सक्रिय भएको भन्दै यसको निष्पक्ष छानबिन माग गरिएको छ।
प्रक्रियाको पारदर्शिता र साख जोगाउन आवेदन दिएका सबै ३५ जना उम्मेदवारहरूले पेस गरेका ‘भिजन पेपर‘ (कार्ययोजना), रणनीति पत्र र उनीहरूले प्राप्त गरेको अंक विवरण शिक्षा मन्त्रालयको वेबसाइटमार्फत तुरुन्त सार्वजनिक गर्न प्रधानमन्त्री तथा केयूका कुलपतिसमक्ष ब्रिज नेपालले आग्रह गरेको छ।
केयू उपकुलपति सर्टलिस्टमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने परेका छन्। उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने तय गरिएको थियो तर हालसम्म अन्तर्वार्ता हुन सकेको छैन।
सर्टलिस्टमा परेका उम्मेदवारमध्ये प्रा.डा.निरञ्जन पराजुलीले नै अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी नहुने घोषणा गरिसकेका छन्। उनले उपकुलपति छनोटको प्रक्रिया, निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
यो पनि


