त्रिवि सुधारका लागि उपकुलपतिसँग अनेरास्ववियुको ३३ बुँदे माग

हिमाल प्रेस २५ साउन २०८३ १३:४७ | Monday, August 10, 2026
14
SHARES
त्रिवि सुधारका लागि उपकुलपतिसँग अनेरास्ववियुको ३३ बुँदे माग

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापासमक्ष विश्वविद्यालय सुधारका लागि ३३ बुँदे मागपत्र बुझाएको छ।

अनेरास्ववियुले बदलिँदो समय र प्रविधिअनुकूल त्रिविलाई गुणस्तरीय, पारदर्शी, प्रविधिमैत्री, अनुसन्धानमुखी तथा विद्यार्थीमैत्री विश्वविद्यालयका रूपमा विकास गर्न मागपत्र बुझाएको हो।

मागपत्रमा शैक्षिक तथा प्रशासनिक सुधार, परीक्षा प्रणाली, शुल्क, छात्रवृत्ति, पूर्वाधार, पुस्तकालय, विद्यार्थी सेवा तथा अनुसन्धानसँग सम्बन्धित विषय समेटिएका छन्।

अनेरास्ववियुले त्रिविअन्तर्गतका सबै तहका परीक्षाका परीक्षा केन्द्र आंगिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्न माग गरेको छ। परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउँदै प्रश्नपत्र सुरक्षित अनलाइन प्रणालीमार्फत परीक्षा केन्द्रमा पठाउने तथा प्रमाणपत्र वितरणलाई सहज र छिटो बनाउने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।

केन्द्रीय क्याम्पसअन्तर्गत सञ्चालित Conflict, Peace and Development Studies, International Relations & Diplomacy, Gender Studies तथा Social Work लगायतका कार्यक्रमको शुल्क पुनरावलोकन गरी विद्यार्थीको पहुँचमा ल्याउनुपर्ने माग संगठनले गरेको छ।

निजी क्याम्पसले मनोमानी शुल्क असुल्ने प्रवृत्ति रोक्न BBA, BCA, BIT, BHM, BBM, BTTM, BSc CSIT लगायतका कार्यक्रमको न्यूनतम तथा अधिकतम शुल्क सीमा निर्धारण गर्न पनि माग गरिएको छ।

एक हजारभन्दा कम विद्यार्थी भएका कार्यक्रमको परीक्षा नतिजा ३० दिनभित्र र २० हजारभन्दा बढी विद्यार्थी भएका कार्यक्रमको नतिजा ६० दिनभित्र प्रकाशित गर्ने व्यवस्था गर्नुपर्ने माग छ। thesis तथा dissertation को plagiarism परीक्षण निःशुल्क गर्न तथा मूल्यांकन प्रक्रियालाई थप पारदर्शी र विकेन्द्रीकृत बनाउन पनि संगठनले माग गरेको छ।

अनेरास्ववियुले त्रिवि केन्द्रीय पुस्तकालयलाई प्रभावकारी र विद्यार्थीमैत्री ढंगले सञ्चालन गर्न तथा पाठ्यपुस्तक र अनुसन्धान सामग्री नियमित अद्यावधिक गर्नुपर्ने बताएको छ। वनस्पति विज्ञान, प्राणी विज्ञान र समाजकार्य विभागका लागि आधुनिक भवन तथा ब्वाइज होस्टेल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न पनि माग गरिएको छ।

त्रिविको ब्रान्ड प्रवर्द्धन, नवप्रवर्तन, अनुसन्धान र आर्थिक आत्मनिर्भरता बढाउने उत्पादनमुखी नीति अवलम्बन गर्नुपर्ने माग पत्रमा उल्लेख छ। विश्वविद्यालय परिसरको दीर्घकालीन विकासका लागि मास्टर प्लान तयार गरी गुणस्तरीय तथा त्रिविको ऐतिहासिक पहिचान झल्कने पूर्वाधार निर्माण गर्नुपर्ने माग पनि गरिएको छ।

Re-totalling तथा Rechecking मा परीक्षा नियन्त्रण कार्यालयको त्रुटि प्रमाणित भए शुल्क फिर्ता गर्ने व्यवस्था गर्न, छात्रवृत्ति प्रणालीलाई एकीकृत, पारदर्शी र डिजिटल बनाउन तथा आर्थिक रूपमा विपन्न र योग्य विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको प्रभावकारी व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ।

हाल सञ्चालनमा रहेको चारवर्षे स्नातक कार्यक्रमको प्रभावकारिता, विद्यार्थीमाथिको समय तथा आर्थिक भार र अन्तर्राष्ट्रिय अभ्यासको समीक्षा गरी आवश्यक परे तीनवर्षे स्नातक कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको छ। BCA को २० प्रतिशत Internal Evaluation, Supervisor पठाउने व्यवस्था तथा अतिरिक्त शुल्कसम्बन्धी विषयमा पनि सुधारको माग गरिएको छ।

अनेरास्ववियुले मागहरू कार्यान्वयनमा सम्बन्धित निकायले उचित तदारुकता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

प्रकाशित: २५ साउन २०८३ १३:४७ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast