छोरीहरूले मोबाइलको पर्दामा हेरे बुबाको ‘चिताको आगो’

हिमाल प्रेस २४ साउन २०८३ २०:१६ | Sunday, August 9, 2026
20
SHARES
छोरीहरूले मोबाइलको पर्दामा हेरे बुबाको ‘चिताको आगो’

काठमाडौँ- एउटा बाबुले जीवनभर आफ्ना छोरीहरूको भविष्यका लागि आफूलाई खर्चिए। उनीहरूलाई पढाए, हुर्काए, आफ्नो खुट्टामा उभिन सक्ने बनाए। छोरीहरूका सपना पूरा हुँदै गए, तर बाबुको जीवन भने विस्तारै साँघुरिँदै गयो। अन्ततः त्यो दिन पनि आयो, जब बाबुको जीवनको अन्तिम अध्याय सकिँदै थियो। चितामा आगो बलिरहेको थियो। तर त्यो आगोको न्यानोमा आफ्ना छोरीहरूको हात थिएन।

उनीहरू मोबाइलको पर्दामा थिए। हतार गर्दै थिए। हरियाणाको सोनीपतस्थित वृद्धाश्रममा बितेको शिवचरण राम रतन गुप्ताको अन्तिम कथा यति नै हो- तर यतिमै सकिँदैन। यो एउटा बाबुको मृत्युको कथा हो, जसले हाम्रो समयको परिवार, सम्बन्ध र एक्लोपनमाथि असहज प्रश्नहरू उठाएको छ।

टाइम्स अफ इन्डिया का अनुसार, कुनै समय भारतको महाराष्ट्रमा सफल कपडा व्यापारी रहेका शिवचरणले जीवनको अन्तिम समय समाज कल्याण शिक्षा समितिद्वारा सञ्चालित वृद्धाश्रममा बिताए। लामो समयदेखि बिरामी रहेका उनको अगस्तको सुरुतिर राति करिब साढे तीन बजे निधन भयो।

उनको अन्तिम साससँगै कोठामा परिवारका कुनै सदस्य थिएनन्। थिए त- उनलाई दिनरात हेरचाह गर्ने कर्मचारीहरू। अन्ततः तिनै कर्मचारीले उनको शव उठाए। तिनैले अन्तिम संस्कार गरे। तिनैहरू नै उनको अन्तिम यात्राका साक्षी बने। उनका तीन छोरी त्यहाँ थिएनन्। सबै एक घण्टाको उडानमा पुग्न सक्ने स्थानमा थिए।

जेठी अनिता नेपालमा शिक्षिका छिन्। माइली निशा उत्तर प्रदेशको आजमगढमा शिक्षिका नै हुन्। कान्छी प्रिया मुम्बईमा बस्छिन्। बुबाको अन्तिम संस्कारमा तीनै जनाले एक घण्टाको उडान तय गर्न मानेनन्। उनीहरूले भिडियो कलमार्फत दाहसंस्कार हेरे। र, पछि हेरचाह गर्ने कर्मचारीलाई भने, ‘अन्त्येष्टिको भिडियो पठाइदिनु।’

त्यो वाक्यले अहिले एउटा परिवारभन्दा धेरै ठूलो कथा बनेको छ। बाबुको जीवन छोरीहरूको भविष्यमा बित्यो तर अन्तिममा तिनै छोरीहरु उनको साथमा रहेनन्। उनको पार्थिव शरीर नियाल्न पनि पुगेनन्। हुन त उनी बृद्धश्रममा बसेका पनि छोरीहरू सँगै नभएर नै हो।

शिवचरण सधैँ एक्ला थिएनन्। कुनै समय उनको आफ्नै संसार थियो। व्यापार थियो। लोभ लाग्दो परिवार थियो। साथै भविष्यका सपना थिए। सबैभन्दा ठूलो कुरा – तीन छोरी थिए। वृद्धाश्रमका अनुसार, उनले आफ्नो कमाइ र बचतको ठूलो हिस्सा छोरीहरूको शिक्षा र भविष्य बनाउन खर्चे। छोरीहरू पढुन्, आफ्नै खुट्टामा उभिऊन् र आफूभन्दा राम्रो जीवन बाँचून् भन्ने उनको चाहना थियो। त्यो उनले पूरा गरे। तर छोरीहरुले सानाेमा बोकेका बाका काँध, डोर्‍याएका हात र के खाने भन्दै ल्याएका खाना सबै भुले।

उनले त्यो सपना पूरा गरे। दुई छोरी शिक्षिका बने। कान्छीले मुम्बईमा आफ्नो जीवन बनाइन्। एउटा बाबुको जीवनमा सन्तानको सफलता सायद सबैभन्दा ठूलो खुसी हो। शिवचरणका लागि पनि त्यही थियो होला। छोरीहरूको सफलतामा उनले आफ्नो संघर्षको अर्थ भेटेका थिए। तर जीवन सधैँ सफलताको बाटोमा मात्र हिँड्दैन। व्यापारमा घाटा लाग्यो। उमेर बढ्दै गयो।

श्रीमती मीना गुप्तासँग करिब डेढ वर्षअघि उनी सोनीपतको वृद्धाश्रममा पुगे। त्यहाँ केही समयपछि मीनाको निधन भयो। श्रीमती गुमेपछि शिवचरणको संसार अझ सुनसान भयो। अब उनीसँग बाँकी थियो- एउटा कोठा, केही सम्झना र एउटा मोबाइल फोन। त्यो मोबाइल उनका लागि संसारसँग जोडिने अन्तिम डोरी थियो। छोरीको फोन आउँदा उनको एक्लोपन केही क्षणका लागि हराउँथ्यो होला।

आवाज सुन्दा टाढाको घर नजिकै आएजस्तो लाग्थ्यो होला। तर स्वास्थ्य बिग्रँदै गएसँगै फोनहरू पनि कम हुँदै गए। प्रतीक्षा भने सायद कम भएन। ‘बुबालाई भेट्न आउनुस्’- अन्तिम आग्रह पनि अधुरै रह्यो। वृद्धाश्रमका प्रबन्धक आनन्दका अनुसार, शिवचरणको स्वास्थ्य गम्भीर भएपछि कर्मचारीले तीनै छोरीलाई सम्पर्क गरे। उनीहरूलाई बुबाको अवस्था खराब हुँदै गएको बताउँदै भेट्न आउन आग्रह गरियो। करिब २० दिनअघि नै यस्तो आग्रह गरिएको थियो। तर तीनै जना आउन सकेनन् वा चाहेनन्।

कारणहरू फरक थिए। समय बित्दै गयो। र, अन्ततः शिवचरणले आफ्ना छोरीहरूको प्रतीक्षा गर्दागर्दै संसार छाडे। निधनपछि पनि वृद्धाश्रमले परिवारलाई समय दिने प्रयास गर्‍यो। छोरीहरू आउन सकून् भनेर शव केही समय सुरक्षित राख्ने प्रस्तावसमेत गरिएको थियो। त्यो पनि स्वीकार भएन।

एक छोरीले पाँच हजार एक सय भारतीय रुपैयाँ अनलाइन पठाइन् र अन्तिम संस्कार राम्रोसँग गरिदिन आग्रह गरिन्। सुरुमा अस्तु सुरक्षित राख्न भनियो। पछि आउन नसक्ने भन्दै गंगामा विसर्जन गरिदिन अनुरोध गरियो। बुबाको अन्तिम यात्रा अब छोरीहरूको हातबाट निस्किसकेको थियो। र, त्यो जिम्मेवारी उनीहरूको परिवार नभएका मानिसहरूको हातमा पुगेको थियो।

दाहसंस्कारका क्रममा भने छोरीहरू मोबाइलको पर्दाबाट जोडिए। एक छोरीले अन्त्येष्टिको भिडियो पठाइदिन आग्रह गरेकी थिइन्। दाहसंस्कार पूरा हुन अझै कति समय लाग्छ भनेर पनि सोधिएको थियो।

जवाफ आयो-करिब १०-१५ मिनेट। सायद त्यो १०-१५ मिनेट केवल एउटा चिताले आगो समेटिरहेको समय थिएन। त्यो समय एउटा बाबु र उनका छोरीबीचको दूरीको मापन पनि थियो। अन्तिममा रगतको नाता होइन, साथ दिने हातहरू थिए। शिवचरणको अन्तिम संस्कारमा उनका आफन्त थिएनन्। तर उनी एक्ला पनि थिएनन्।

उनलाई अन्तिमपटक हेर्ने आँखाहरू थिए। उनको शव उठाउने हातहरू थिए। उनको चितामा आगो दिने मानिसहरू थिए। ती मानिसहरू उनका सन्तान थिएनन्। उनीहरू उनका नातेदार पनि थिएनन्। तर उनीहरूले अन्तिम क्षणमा परिवारले गर्नुपर्ने काम गरे।

श्रीमतीको निधनपछि शिवचरणको दैनिक हेरचाह गर्ने पनि उनीहरू नै थिए। खाना खुवाउने, औषधि दिने, कुरा गर्ने, बिरामी हुँदा साथ बस्ने- यी सबै उनीहरूको दिनचर्याको हिस्सा बनेको थियो। त्यसैले शिवचरण उनीहरूका लागि वृद्धाश्रममा बस्ने अर्को वृद्ध मात्र थिएनन्।

उनी उनीहरूको आफ्नै मानिसजस्तै भइसकेका थिए। शिवचरणले आँखादान गर्ने इच्छा व्यक्त गरेका थिए। परिवारको सहमतिपछि उनको त्यो इच्छा पनि पूरा भयो। सायद मृत्युले पनि उनको जीवनको एउटा अर्थ बोकेर गयो- आफ्नो आँखाको उज्यालो अरू कसैलाई दिने। तर उनको अन्तिम यात्राले हामीलाई एउटा अर्को प्रश्न छाडेर गएको छ।

सन्तानलाई राम्रो शिक्षा दिनु पर्याप्त हो? उनीहरूलाई सफल बनाउनु पर्याप्त हो? आफ्ना सन्तानका लागि जीवनभर संघर्ष गर्ने बाबुआमाले बुढ्यौलीमा वास्तवमा के खोज्छन्? सायद धेरै होइन। पैसा होइन। महँगो उपहार होइन। ठूलो घर होइन। उनीहरूलाई कहिलेकाहीँ केवल एउटा फोन चाहिन्छ। एउटा भेट चाहिन्छ।

कसैले निधारमा हात राखेर सोधिदियोस्- ‘बुबा, सन्चै हुनुहुन्छ’ र अन्तिम क्षणमा, एउटा हात। आफ्नै सन्तानको हात। शिवचरणले छोरीहरूको भविष्य बनाउन आफ्नो वर्तमान खर्चिए। छोरीहरू सफल भए। तर बुबाको अन्तिम यात्रामा उनीहरूको पाइला पुगेन। चितामा आगो बलिरह्यो। छोरीहरू मोबाइलको पर्दामा थिए।

सायद यही दृश्यले यो घटनालाई एउटा परिवारको निजी पीडाभन्दा धेरै ठूलो बनाएको छ। किनकि आज हामीमध्ये धेरैजना आफ्ना आमाबुबाभन्दा टाढा छौँ। कसैका छोराछोरी विदेशमा छन्। कसैका सन्तान अर्को सहरमा। कसैका आफ्नै व्यस्तता छन्। जीवनका आफ्नै बाध्यता छन्।
तर बुढ्यौलीले बाध्यता बुझ्दैन।

एक्लोपनले पनि बुझ्दैन। वृद्ध आँखाले केवल ढोका हेर्छ। फोनको पर्दा हेर्छ। र, परिचित आवाजको प्रतीक्षा गर्छ। शिवचरणले पनि सायद त्यही गरे। अन्तिम दिनसम्म। तर अन्तिमपटक ढोका खुलेन। फोनको पर्दा भने खुल्यो। त्यही पर्दाबाट छोरीहरूले बुबाको चिता देखे। र, बुबा भने उनीहरूको जीवनभरको भविष्य बनेर, आफ्नै अन्तिम क्षणमा एक्लै बिदा भए।

उनको अन्तिम संस्कार गर्नेहरू रगतका आफन्त थिएनन्। तर उनीहरूले साथ छाडेनन्। त्यसैले शिवचरणको कथा अन्ततः एउटा प्रश्नमा आएर रोकिन्छ – परिवार रगतको नाताले बन्छ कि अन्तिम क्षणमा साथ दिने हातले? शिवचरणको चिता निभिसकेको छ। तर उनको कथा अझै बलिरहेको छ। सायद हाम्रो समाजलाई सोधिरहेको छ- कुनै दिन घरको एउटा बुबा वा आमा पनि मोबाइलको पर्दामा मात्र बाँकी नहोस्।

नोट: टाइम्स अफ इन्डियाको सार्है मनछुने स्टोरीको भावानुवाद। 

प्रकाशित: २४ साउन २०८३ २०:१६ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast