काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको नयाँ तलबमानअनुसार शिक्षकहरूको बढेको तलब, ग्रेड तथा ग्रेड रकम साउन १ गतेदेखि लागू हुने भएको हो।
सार्वजनिक गरिएको विवरणअनुसार माध्यमिक प्रथम श्रेणी शिक्षकको कुल मासिक तलब ७५ हजार ५२५ रुपैयाँ, माध्यमिक द्वितीय श्रेणीको ६७ हजार ३०७ रुपैयाँ र माध्यमिक तृतीय श्रेणीको ६० हजार ५७६ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, निम्न माध्यमिक प्रथम श्रेणी शिक्षकले ६३ हजार १०४ रुपैयाँ, द्वितीय श्रेणीले ६० हजार ५७४ रुपैयाँ तथा तृतीय श्रेणीले ५८ हजार २८७ रुपैयाँ मासिक तलब पाउनेछन्।
प्राथमिक तहमा कार्यरत शिक्षकमध्ये एसएलसी उत्तीर्ण प्रथम श्रेणी शिक्षकको मासिक तलब ६० हजार ५७४ रुपैयाँ, द्वितीय श्रेणीको ५८ हजार ३१९ रुपैयाँ र तृतीय श्रेणीको ५६ हजार ३८६ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, दुई विषयमा एसएलसी उत्तीर्ण शिक्षकको मासिक तलब ३६ हजार ५४४ रुपैयाँ तथा दुई विषयमा बढी एसएलसी उत्तीर्ण शिक्षकको ३४ हजार ९२६ रुपैयाँ कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षकहरूलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड तथा बढेको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ तलबमानसँगै सम्बन्धित ग्रेड रकम पनि भुक्तानी गरिने अर्थ मन्त्रालयले जनाएको छ।


