काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षदेखि आफ्नै स्रोतबाट नियुक्त ईसीडी शिक्षक, प्राविधिक शिक्षक तथा नेपाल भाषाका सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेकोप्रति स्वागत गरिएको छ। तर संघीय अनुदानबाट कार्यरत ईसीडी शिक्षक, विद्यालय कर्मचारी तथा राहत शिक्षकहरूलाई उक्त व्यवस्थाबाट बाहिर राखिएको भन्दै विभेद भएको सरोकारवालाहरूले बताएका छन्।
यसै सन्दर्भमा संघीय अनुदानबाट कार्यरत ईसीडी शिक्षकहरूको तर्फबाट मंगलबार काठमाडौँ महानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ। उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ काठमाडौँ जिल्ला समितिले पनि ऐक्यबद्धता जनाएको छ।
महासंघले शिक्षाको आधार बालविकास शिक्षा भएकाले बालविकास कक्षामा अध्यापन गराउने शिक्षकहरूको मनोबल उच्च राख्न आवश्यक रहेको जनाएको छ। भविष्यका कर्णधार निर्माण गर्ने शिक्षकलाई सामाजिक सुरक्षा, स्वास्थ्य उपचार, निवृत्तिभरण तथा सुरक्षित भविष्यको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइएको छ।
महासंघले काठमाडौँ महानगरपालिकाले थालेको पहललाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै संघीय अनुदानबाट कार्यरत ईसीडी शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षकलाई समेत सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेको छ।
संघीय सरकारले पनि सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।
महासंघले शिक्षकको सामाजिक सुरक्षा सुनिश्चित हुँदा शिक्षाको गुणस्तर अभिवृद्धि हुने र भविष्य सुरक्षित बन्ने विश्वास व्यक्त गरेको छ।


