काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरुसँग छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साथै आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद जनकसिंह धामीले जानकारी दिए।
सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए।
त्यस्तै सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणलगायतका विषयमा देखिएका समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको जानकारी दिए।
साथै भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि सांसदहरुले प्रधानमन्त्रीलाई अवगत गराइका थिए।
छलफलमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसदहरूको सहभागिता थियो।


