निरन्तर वर्षा, यी सडक छन् पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस १८ साउन २०८३ ७:५४ | Monday, August 3, 2026
10
SHARES
निरन्तर वर्षा, यी सडक छन् पूर्णरूपमा अवरुद्ध बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरूको अवस्थाबारे जानकारी दिएको छ। प्राप्त विवरण अनुसार उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।

काठमाडौँ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ पाण्डुरमा साउन १८ गते बिहान ५ बजेर ५० मिनेटमा गएको पहिरोले कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिममा वैशाख १२ गतेदेखि नै मध्यपहाडी लोकमार्ग प्रभावित छ।

त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरी सडक ‘एकतर्फी सुचारु’ गरिएको छ। इलामको राजदुवालीमा वैशाख २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित काँडेमा साउन १८ गते बिहान गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने बीपी राजमार्गमा जेठ २२ गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाडी चलाउन दिइएको छ।

मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा पनि असार २९ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइँदैन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलो र कोदारीमा गएको पहिरोले असार ३१ र साउन १ गतेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ।

दोलखाको तामाकोशीस्थित किर्नेटारमा साउन ७ गते बाढीले लामासाँघु-रामेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेपछि ‘खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको’ जानकारी प्रहरीले दिएको छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा साउन ८ गतेको बाढीले त्रिशूली(मैलुङ(स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा बन्द छ। यो सडक खुल्न अझै लामो समय लाग्ने अवस्था छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि पहिरोको प्रभाव व्यापक छ। बागलुङको जैमिनीस्थित बेलबगरमा साउन १ गतेदेखि कालीगण्डकी करिडोर ‘एकतर्फी सुचारु’ छ। गोरखाको धार्चेस्थित अण्डर डाँडामा साउन १६ गते गएको पहिरोले लार्के-बेनीघाट कच्ची सडक पूर्ण रूपमा बन्द छ।

मनाङको नासो गाउँपालिका धारापानीमा साउन १७ गते गएको पहिरोले चामे-बेँसीसहर सडक खण्ड अवरुद्ध छ। म्याग्दीको रघुगङ्गास्थित बैसेरी र लमजुङको बेँसीसहरस्थित खर्खरे भिरमा साउन १८ गते बिहान गएको पहिरोले क्रमशः बेनी-जोमसोम र बेँसीसहर-मनाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन्।

उता कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिमको आठबीसकोटस्थित रिजेगार्ड खोलामा साउन ६ गते आएको बाढीले भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

प्रकाशित: १८ साउन २०८३ ७:५४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast