शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् : शिक्षक आन्दोलनको भावी दिशाबारे परिसंवाद

हिमाल प्रेस १७ साउन २०८३ ११:०१ | Sunday, August 2, 2026
160
SHARES
शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् : शिक्षक आन्दोलनको भावी दिशाबारे परिसंवाद

ललितपुर- नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद्को अवसरमा ‘नेपाली शिक्षक आन्दोलन : वर्तमान सन्दर्भ र अबको बाटो’ विषयक विशेष परिसंवादमा शिक्षा, श्रम कानुन र सामाजिक क्षेत्रका विज्ञहरूले ट्रेड युनियन अधिकार र शिक्षक आन्दोलनका भावी दिशाका बारेमा छलफल  गरेका छन्।

ललितपुरमा आयोजित उक्त कार्यक्रम रामशरण प्याकुरेलको सहजीकरण तथा प्रस्तुतिमा सम्पन्न परिसंवादमा २१ औँ शताब्दीको शिक्षाको स्वरूप, २० औँ शताब्दीको शिक्षाको समीक्षा र शिक्षकहरूका लागि बृहत् ट्रेड युनियन निर्माणका ५ मुख्य उद्देश्यहरू समेटिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो।

कार्यक्रमका मुख्य प्रस्तोता तथा श्रम कानुन विज्ञ भक्तिराम घिमिरेले शिक्षा क्षेत्रमा ट्रेड युनियनको कानुनी तथा संवैधानिक अधिकारबारे प्रकाश पार। उनले नेपालको अन्तरिम संविधान र वर्तमान संविधान (२०७२) को धारा १७ (संघसंस्था खोल्ने स्वतन्त्रता) र धारा ३४ (श्रमको हक र उचित श्रम अभ्यास) ले स्पष्ट रूपमा ट्रेड युनियन अधिकार ग्यारेन्टी गरेको बताए।

घिमिरेले आईएलो महासन्धि ९८ लाई नेपालले अनुमोदन गरिसकेकाले युनियन विरोधी भेदभाव विरुद्ध शिक्षकहरूको पनि अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए। तर,विगतमा भएका हड्ताल र आन्दोलनहरूबाट धेरै सम्झौता भए पनि तिनले कानुनद्वारा दिगो अधिकारको रूप लिन नसकेको उनको भनाइ थियो। उनले संविधान, श्रम ऐन र अन्तर्राष्ट्रिय महासन्धिमा भएका व्यवस्थाहरूको पूर्ण परिपालना र कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।

अर्का प्रस्तोता सागरनाथ प्यारेलले ‘नेपालको माध्यमिक शिक्षामा सामाजिक संवाद : इतिहास र अवसरहरू’ विषयमा प्रस्तुत गर्दै शिक्षक आन्दोलनका परम्परागत शैलीबारे समीक्षा गरे। निरन्तर हड्ताल र ‘पेन डाउन’ जस्ता कदमहरूले अभिभावक, विद्यार्थी र आम समाजमा शिक्षकहरूप्रति विश्वासको संकट पैदा भएको उनले औँल्याए।

‘शिक्षकका माग मात्र होइन, अब विद्यार्थी, अभिभावक र समाजका समग्र शैक्षिक मुद्दामा पनि शिक्षक युनियनहरूले आवाज उठाउनुपर्छ,’ प्यारेलले भने,‘गुमेको विश्वास पुनः प्राप्त गर्न सरकार, अभिभावक र शिक्षा सरोकारवालाहरूसँग निरन्तर संवाद र छलफल आवश्यक छ।’

कार्यक्रममा पूर्वमन्त्री तथा वातावरण एवं विकास अभियन्ता डा.विमला राई पौडेल, लक्ष्मण शर्मा लगायतका वक्ताहरूले पनि शिक्षक आन्दोलनलाई समयानुकूल परिमार्जन गर्दै श्रम अधिकार, सामाजिक न्याय र शिक्षाको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे।

परिषद्‌मा सहभागी वक्ताहरूले अबका दिनमा शिक्षक महासंघले साँचो अर्थमा सामूहिक सौदाबाजीको अधिकार प्रयोग गर्दै शैक्षिक रूपान्तरणका लागि भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेका छन्।

प्रकाशित: १७ साउन २०८३ ११:०१ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast