चाइना जर्नल

नेपाल-चीन सम्बन्ध : विश्वासमा आधारित मित्रता

अजय अलौकिक १६ साउन २०८३ ९:२२ | Saturday, August 1, 2026
32
SHARES
नेपाल-चीन सम्बन्ध : विश्वासमा आधारित मित्रता

 लाग्छ, आज विश्व नयाँ मोडमा उभिएको छ। विश्वमा शक्ति सन्तुलन तीव्र रूपमा परिवर्तन भइरहेको छ। शीतयुद्धको दुई ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्व व्यवस्थातर्फको मोड, आर्थिक विश्वव्यापीकरण, डिजिटल क्रान्ति, कोभिड-१९ महामारी, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनको फड्को मार्ने विकास, जलवायु परिवर्तनको बढ्दो असर र थपिँदै गएका भूराजनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपलाई नै पुनःपरिभाषित गरिरहेको छ।

यही प्रक्रियामा, एसिया विश्व अर्थतन्त्रको केन्द्र बन्दै गएको छ। चीन विश्व कै प्रमुख आर्थिक शक्तिमध्ये एक बनेको छ। भारत पनि तीव्र आर्थिक वृद्धितर्फ अघि बढिरहेको छ। यसरी आर्थिक प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास, आपूर्ति शृँखलाको पुनःसंरचना तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा भइरहेका परिवर्तनले दक्षिण एसियाको रणनीतिक महत्त्व पनि बढाएको छ। अमेरिका, बेलायत, युरोपेली संघ, जापानलगायत अन्य शक्तिशाली राष्ट्रहरूले पनि नेपालसहित दक्षिण एसियामा आफ्नो सक्रियता बढाइरहेका छन्।

नेपाल भौगोलिक तथा रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थानमा अवस्थित छ। उत्तरमा चीन र दक्षिणमा भारत रहेको नेपालको भूराजनीतिक अवस्थाले अवसर र चुनौती दुवै सिर्जना गरेको छ। बदलिँदो अन्तर्राष्ट्रिय भूराजनीतिक प्रतिस्पर्धाले नेपालजस्ता राष्ट्रलाई थप संवेदनशील बनाएको छ। नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबै छिमेकी र अन्तर्राष्ट्रिय साझेदारसँग समान सम्मान, समान दूरी र समान सहकार्यको नीति अपनाउनु नै दीर्घकालीन रूपमा हितकर हुनेछ। यद्यपि, नेपालले सन्तुलित कूटनीति अपनाउँदै उत्तर र दक्षिणका दुई छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ।

हिमाल, नदी र नालाले जोडिएका दुई असल छिमेकी, नेपाल र चीनले सन् १९५५, अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नै दुवै देशले पञ्चशील सिद्धान्तलाई पछ्याउँदै पारस्परिक सम्मान, सार्वभौमसत्ताको सम्मान, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त र शान्तिपूर्ण सहअस्तित्वलाई प्राथमिकता दिँदै सम्बन्धलाई निरन्तर अगाडि बढाएका छन्। यस वर्ष कूटनीतिक सम्बन्ध ७१औँ वर्षमा प्रवेश गरेको छ। सात दशकभन्दा लामो यात्रामा नेपाल चीन सम्बन्धले राजनीतिक परिवर्तन र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका अनेक उतार चढाव पार गर्दै मित्रता, पारस्परिक सम्मान, र साझा हितमा आधारित सहकार्य र सहयोगको आधारलाई कायम राख्न सफल भएको छ।

यस्ता परिवर्तनका बीच नेपाल र चीनले आफ्नो सम्बन्धलाई परम्परागत मित्रताबाट आधुनिक विकास साझेदारीमा रूपान्तरण गरेको छ। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणपछि दुई देश बीचको सम्बन्धलाई ‘विकास र समृद्धितर्फ उन्मुख पुस्तागत मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध’ मा उन्नत गरिएको थियो। यो उच्चस्तरीय संरचनाले नेपाल चीन सम्बन्धको दिशा स्पष्ट पारेको छ। यसले दुई देशको सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ।

सत्तरी वर्षअघि, चीन र नेपालले हिमालय शृँखलाको अवरोधलाई पार गर्दै सुरु गरेको दुई देश बीचको मैत्रीपूर्ण आदानप्रदान आज व्यापक क्षेत्रमा फैलिएको रणनीतिक सहकार्य साझेदारीमा विकास भइसकेको छ। र, यो राजनीतिक विश्वासको आधारशिला भनेको एक अर्काको मूल हितप्रति दृढ समर्थन नै हो।

नेपाली पक्षले एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको तथा थाइवान र तिब्बतका विषयहरू चीनको आन्तरिक मामिला भएको कुरा पटकपटक दोहोर्याउँदै आएको छ। नेपालले कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनको हित विपरीत कार्य गर्न नदिने प्रतिबद्धता जनाएको छ। चीनले पनि नेपाललाई आफ्नो छिमेक कूटनीतिको महत्त्वपूर्ण स्थानमा राख्दै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र आफ्नो देशको परिस्थितिअनुसार विकासको मार्गको समर्थन गर्दै आएको छ।

चिनियाँ दृष्टिकोणलाई हेर्दा चीनले नेपालमा राजनीतिक स्थिरता, आर्थिक विकासमा विशेष चासो राख्दै आएको स्पष्ट बुझिन्छ। चीनका लागि नेपालमा कुन पार्टीको सरकार भन्नेभन्दा पनि नेपालले स्थिर, शान्त र विकासको बाटो पहिल्याओस् भन्ने नै महत्त्वपूर्ण देखिन्छ। यसर्थ, नेपाल चीन सम्बन्धको कुटनीतिक स्थापना दिवस केवल विगत सम्झने अवसरमात्रै होइन, भविष्यको साझा मार्गचित्र तयार गर्ने अवसर पनि हो।

बदलिँदो विश्व व्यवस्था, नयाँ राजनीतिक परिस्थिति र आर्थिक प्रतिस्पर्धाका बीच नेपाल र चीनले आपसी सम्मान, समानता, विश्वास र साझा हितका आधारमा सम्बन्धलाई अझ उचाइमा पुर्याउनसक्ने पर्याप्त सम्भावना छ। यसका लागि पारस्परिक विश्वासलाई अझ संस्थागत बनाउनुपर्छ।

मित्रताको सबैभन्दा बलियो आधार विश्वास हो। विश्वासबाट मित्रता हुन्छ अनि मित्रता बीचको आपसी सम्मानले सम्बन्धलाई बलियो बनाउँछ र त आर्थिक सहकार्यको बाटो खोल्छ अनि साझा समृद्धितर्फ अग्रसर हुनसकिन्छ। त्यसैले आगामी दशकहरूको नेपाल चीन सम्बन्ध प्रतिस्पर्धाभन्दा सहकार्यमा, निर्भरताभन्दा साझेदारीमा र सन्देह होइन विश्वासको मित्रतामा आधारित हुनुपर्छ।

साथै, अन्तर्राष्ट्रिय परिस्थिति वा आर्थिक उतारचढाव र सरकार परिवर्तनले समेत विश्वासमा असर नपार्ने वातावरण निर्माण गर्नु टड्कारो आवश्यकता छ। यसै गरी, विकास साझेदारीलाई अझ परिणाममुखी बनाउनु र ती परियोजनाबाट जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनु अर्को जिम्मेवारी हो। दुई छिमेकी राष्ट्रबीचको मित्रतालाई अब ज्ञान, नवप्रवर्तन, हरित विकास, पारस्परिक सम्मान र साझा समृद्धिको नयाँ उचाइमा पुर्याइनु पर्छ।

नयाँ समयमा सम्बन्ध नविकरणको उद्देश्यसहित नेपाली परराष्ट्रमन्त्री शिशिर खनालले गत जुनमा चीनको भ्रमण गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपालमा नयाँ सरकार गठनपछिको चीनको पहिलो औपचारिक भ्रमण भएको भन्दै दुई देश बीच उच्चस्तरीय भ्रमणको आदानप्रदानको शृँखला सुरू गर्न र नेपाल सरकार तथा (रास्वपा) पार्टीको प्राथमिकताका विषयसम्बन्धमा चीनसँग छलफल गर्ने बताएका थिए। उनले अत्यन्त महत्त्वपूर्ण छिमेकी राष्ट्र चीनको विकास अनुभवबाट सिक्न चाहेको र दुई पक्षीय सम्बन्धलाई सुदृढ र गहिरो बनाउन चाहेको पनि औँल्याए।

अवश्य पनि, उनको भ्रमण सन्देह र शंकालाई हटाउन एउटा पुलेसो बन्न सफल भएको छ। सो भ्रमण क्रममा, उनी दूतावासद्वारा आयोजित लगानी सम्मेनलमा उपस्थित पनि भएका थिए। साथै, चीनका लागि नेपाली दूतावासले हालसालै नेपाल-चीन व्यापार तथा लगानी सम्बन्धी दुई दिने सम्मेलनको आयोजना पनि गरेको थियो। नेपाली पक्षले चिनियाँ उद्यमीलाई निष्पक्ष, कानुनी र मैत्रीपूर्ण लगानी वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। तर बिडम्बना भनुँ या विरोधाभास, चीनको बेल्ट एन्ड रोड संयुक्त निर्माणको उल्लेख गरिएको पाइएन। सायद, बाह्य राजनीतिक दबावले ‘बेल्ट एन्ड रोड’ आयोजनालाई नेपाल सरकारले खुलेर समर्थन गरेको देखिन्न। यद्यपि नेपालले यसको फ्रेमवर्कमा समेत हस्ताक्षर गरिसकेको छ र सोही परियोजनाअन्तर्गत विभिन्न योजना, परियोजना सञ्चालनमा पनि छन्। सन् २०१७ मा नेपाल ‘बेल्ट एन्ड रोड’ पहलमा सामेल भएको थियो भने सन् २०२४ डिसम्बरमा सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएसँगै यो सहकार्य नयाँ चरणमा प्रवेश गरेको हो।

दूतावासको प्रसंगमा यो पनि उल्लेख गर्नु उपयुक्त हुन्छ कि हाल दूतावास कार्यवाहकबाट सञ्चालित छ। अत्यन्त महत्त्वपूर्ण छिमेकी राष्ट्रमा नै राजदूत पद खाली राखिरहनु कति उचित होला? देशको प्रतिनिधित्व गर्न चीनका लागि राजदूतसमेत खटाइएको छैन।

नेपाल र चीन बीचको सम्बन्ध संस्कृति र सभ्यताको साझा यात्राबाट सुरु भएको हो। बुद्धभद्र, भृकुटी, अरनिको तथा बौद्ध सभ्यताले दुई देशका जनतालाई सदीयौँदेखि जोड्दै आएको हो। आधुनिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि यी ऐतिहासिक सम्बन्धहरू राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य, सांस्कृतिक तथा पूर्वाधार विकासका क्षेत्रमा विस्तार हुँदै गएका छन्। चीन नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो। नेपाल र चीन बीचको सम्बन्ध हिमाल पार गर्ने बहुआयामिक सहकार्य साझेदारीमा रुपान्तरण भएको छ। यसबाहेक, चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी बलियो भएमा आफू पनि बलियो हुने भन्ने धारणा बारम्बार दोहोर्‍याउने गरेका छन्। त्यसैले पनि चीनले नेपालको विकासलाई प्राथमिकतामा राख्ने गरेको स्पष्ट हुन्छ।

सत्तरी वर्षदेखि, अन्तर्राष्ट्रिय परिस्थिति जे जसरी परिवर्तन भए तापनि, चीन र नेपाल सधैँ एकअर्काप्रति सम्मान र समान व्यवहार गर्दै आएका छन्। नेपालले एक चीन सिद्धान्तलाई अपनाएको छ, र चीनले सधैँ नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दैआएको छ। आपसी हितको सम्मान नै दुवै देशको सम्बन्ध स्थिर र दीर्घकालीन बनाउने आधार हो।

मित्रता तब मात्र दीर्घकालीन हुन्छ जब त्यसको आधार विश्वास हुन्छ र परस्पर लाभ र एक अर्काको संवेदनशीलताको सम्मान हुन्छ। यही आधारमा नेपाल चीन सम्बन्ध आगामी दशकहरूमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिको सशक्त आधार बन्ने अपेक्षा गर्न सकिन्छ। ७१औँ कूटनीतिक सम्बन्ध दिवसको यस ऐतिहासिक अवसरमा दुवै देशले विगतको गौरवलाई सम्मान गर्दै भविष्यलाई अझ उज्ज्वल र समृद्ध बनाउन सकुन्।

प्रकाशित: १६ साउन २०८३ ९:२२ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast