१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ, चीनमा कल्याण र अमेरिकामा चिरन

हिमाल प्रेस २ असोज २०८३ १८:२७ | Friday, September 18, 2026
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ, चीनमा कल्याण र अमेरिकामा चिरन

काठमाडौँ- सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई दिएका हुन्।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ। जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि सारु जोशीलाई प्रस्ताव गरिएको छ।

यसैगरी ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको पोखरेलले बताए।

प्रस्तावित सबै राजदूत परराष्ट्र सेवाबाहिरका हुन्। प्रस्तावित अधिकांश राजदूतहरूलाई सरकारले आवेदन गरेर सिफारिस गरेको हो। उनीहरू परराष्ट्र मामिला, सुरक्षा, अर्थशास्त्र, विकास, प्रविधि, आप्रवासन, जलवायु तथा सार्वजनिक नीतिका क्षेत्रमा काम गरेका  र सम्बन्धित विषयका विज्ञहरू छन्।

भारतका लागि प्रस्तावित डा. पाण्डे वैदेशिक नीति तथा दक्षिण एसिया मामिलाका प्राज्ञ हुन्। उनी सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक छन्। उनले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सल्लाहकारका रूपमा काम गरिसकेका छन्। डा. पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका छन्। उनी नेसनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज, बेंगलोरका मानार्थ सह-प्राध्यापक र नेसनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज का नन-रेजिडेन्ट सिनियर फेलो हुन्।

चीनका लागि प्रस्तावित डा. शर्मा नेपाल-चीन सम्बन्ध, अर्थशास्त्र तथा व्यापारका विज्ञ हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् र नेपाल-चीन आर्थिक कूटनीति तथा बेल्ट एन्ड रोड सहकार्यका विषयमा काम गर्दै आएका छन्। उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल-चीन फ्रेन्डसिप फोरम (२०१३ देखि) र काउन्सिल अफ सिनोलोजिस्ट्स-नेपालको अध्यक्ष छन्।

अमेरिकाका लागि प्रस्तावित थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ हुन्। उनले कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्। उनले कोलम्बिया युनिभर्सिटीको स्कूल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर हुन्। सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशहरूमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्।

बेलायतका लागि प्रस्तावित पूर्वप्रधानसेनापति राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका छन्। उनको कार्यकालमा पूर्वमाओवादी लडाकुको नेपाली सेनामा समायोजन तथा २०७२ को भूकम्पपछिको सैन्य उद्धार तथा राहत कार्य सञ्चालन भएको थियो। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका राणाले नेपाली सेनामा १० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए।

जापानका लागि प्रस्तावित थापाले दुई दशकभन्दा बढी नेपाल-जापान सम्बन्धका क्षेत्रमा काम गरेका छन्। उनी जापानको कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिला विज्ञका रूपमा कार्यरत छन्।

इजरायलका लागि प्रस्तावित कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका व्यक्ति हुन्। उनले कुमारी बैंक र नेपाल बैंकमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने क्यान महासंघको अध्यक्षसमेत भइसकेका छन्।

स्पेनका लागि प्रस्तावित शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी विज्ञ हुन्। उनी विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनमा कार्यरत छिन्।

जर्मनीका लागि प्रस्तावित जोशी वैदेशिक रोजगार, आप्रवासन सुशासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी नीति विज्ञ हुन्।

ओमानका लागि प्रस्तावित डा. राणा दिगो विकास, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत छन्। उनी इम्प्याक्ट हब काठमाडौँकी कार्यकारी निर्देशक तथा सहसंस्थापक हुन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन्।

मलेसियाका लागि प्रस्तावित खरेल शिक्षा, मानविकी, राजनीतिशास्त्र तथा कानुनको पृष्ठभूमि भएका व्यक्ति हुन्। उनी हाल नेपाल योग खेलकुद संघका महासचिव छन्। यसअघि उनले विभिन्न खेलकुद संस्थामा नेतृत्वदायी भूमिकामा काम गरेका थिए।

दक्षिण कोरियाका लागि प्रस्तावित प्रा.डा. श्रेष्ठ जलस्रोत, जलवायु उत्थानशीलता तथा अन्तर्राष्ट्रिय सहकार्यका विज्ञ हुन्। उनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डका प्राध्यापक तथा ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टरका संस्थापक सहनिर्देशक हुन्।

श्रीलंकाका लागि प्रस्तावित डा. झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन्। उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा काम गरेकी थिइन्।

साउदी अरेबियाका लागि प्रस्तावित सुनार समाजशास्त्र तथा विकास क्षेत्रका विज्ञ हुन्। उनी सामाजिक संरक्षण, लैंगिक समानता, सामाजिक समावेशीकरण तथा जलवायु अनुकूलनका क्षेत्रमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast