देशभरका सुनचाँदी व्यवसायी बुटवलमा भेला हुँदै

हिमाल प्रेस १५ साउन २०८३ १४:४१ | Friday, July 31, 2026
6
SHARES
देशभरका सुनचाँदी व्यवसायी बुटवलमा भेला हुँदै

बुटवल- नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ र १४औँ वार्षिक साधारणसभाका लागि देशभरका करिब ७ सय सुनचाँदी व्यवसायी शनिबार बुटवलमा भेला हुने भएका छन्।

महासंघमा आबद्ध ८४ जिल्ला तथा नगर संघ, वस्तुगत संगठन, २३ वटा एसोसिएट सदस्य, पर्यवेक्षक तथा प्रतिनिधिहरू साधारणसभामा सहभागी हुनेछन्।

महासंघका केन्द्रीय पदाधिकारीहरू बुटवल आइपुगेका छन् भने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष अर्जुन रसाइलीले साधारणसभामा व्यवसायीको हकहित, सुनको माग र आपूर्ति व्यवस्थापन, सुनचाँदीका कारीगरको सीप विकास तथा उनीहरूलाई स्वदेशमै टिकाइराख्ने विषयमा विस्तृत छलफल हुने जानकारी दिए।

उनले सीप प्रवर्द्धनका नाममा राज्यले कर लिँदै आएको बताउँदै उपभोक्तालाई थप आर्थिक भार नपर्ने नीतिका लागि महासंघले पहल गर्ने धारणा राखे।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष दीपेशरत्न शाक्यले सुनचाँदी व्यवसाय नेपाली संस्कृति र परम्परासँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि महासंघ निरन्तर सक्रिय रहेको बताए।

कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, प्रवक्ता जीवनज्योति सदाशंकर तथा महासचिव किरणभाइ बज्राचार्यले पनि आआफ्नो धारणा राखेका थिए।

वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रमा मन्त्री, प्रदेशसभा सदस्य, नेपाल सरकारका सचिव, विभिन्न सरकारी निकायका महानिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरूको सहभागिता रहने महासंघका केन्द्रीय सदस्य दीपक विश्वकर्माले जानकारी दिए।

उद्घाटन सत्रपछि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने तथा समसामयिक एजेन्डामाथि छलफल गरिनेछ।

प्रकाशित: १५ साउन २०८३ १४:४१ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast