काठमाडौँ- सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल नेकपा (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ।
पार्टीको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बुधबार जारी गरेको विज्ञप्तिमा युगौँदेखि यहाँका सबै जाति, धर्म र समुदायबीच कायम रहँदै आएको आपसी भ्रातृत्व, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको बलियो आधार भएको उल्लेख छ।
कुनै पनि बहानामा सद्भाव खलबल्याउने, धार्मिक ध्रुवीकरण बढाउने र नागरिकको जीउधनमाथि हमला गर्ने कार्यको एमालेले घोर भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख छ।
कोशी प्रदेश कमिटीले घटनामा परी ज्यान गुमाउने देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ।
झडपका क्रममा घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको समेत प्रदेश कमिटीले कामना गर्नुका साथै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। हिंसा, र द्वन्द्वले कसैको पनि हित नगर्ने उल्लेख गर्दै संवाद र आपसी समझदारीबाटै सबै समस्याको समाधान खोज्न तथा सामाजिक एकता कायम राख्न प्रदेश कमिटीका अध्यक्ष खतिवडाले सम्पूर्ण पक्षलाई आह्वान गरेका छन्।


