सुनसरी घटना : मृतकलाई सहिद घोषणा गर्न पीडित परिवारको माग

हिमाल प्रेस १२ साउन २०८३ २२:२७ | Tuesday, July 28, 2026
12
SHARES
सुनसरी घटना : मृतकलाई सहिद घोषणा गर्न पीडित परिवारको माग

इटहरी – सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग अघि सारेका छन्।

घटनापछि मंगलबार मृतक ओमप्रकाश मेहताका परिवारले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत सरकारलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै मृतकलाई सहिद घोषणा गर्न माग राखेका हुन्।

ज्ञापनपत्रमा मेहतालाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, सबै घाइतेको निःशुल्क उपचार तथा उक्त खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ।

साथै घटनाको निष्पक्ष छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कानुनी कारबाही गर्न पनि आग्रह गरिएको छ।

घटनाको दिन साँझदेखि पटकपटक विद्युत् आपूर्ति अवरुद्ध गरिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका ड्युटी कर्मचारी र घटनामा संलग्न व्यक्तिहरूको कल विवरण सार्वजनिक गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

यसैगरी नयाँ हाट क्षेत्रमा पछिल्लो समय बढ्दो तनाव र सीमापार हुने अवैध गतिविधिप्रति प्रशासन उदासीन रहेको आरोप लगाउँदै आगजनी तथा तोडफोडको जिम्मेवारी प्रशासनको कमजोरी भएको दाबी गरिएको छ।

पीडित पक्षले प्रदर्शनमा सहभागी स्थानीयविरुद्ध झुटा मुद्दा नचलाउन तथा निष्पक्ष अनुसन्धानमार्फत दोषीमाथि मात्र कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राईलाई भ्रामक सूचना दिएर घटनास्थलमा बोलाइएको, पर्याप्त अनुसन्धान नगरी लाठीचार्ज गरिएकाले स्थिति बिग्रिएको र त्यसपछि सशस्त्र प्रहरीले सोझै ताकेर गोली चलाएको आरोपसमेत लगाएको छ।

ज्ञापनपत्र बुझ्दै सुनसरी प्रशासनले मागहरू सम्बन्धित निकायसम्म पुर्‍याउने र घटनाबारे कानुनी प्रक्रियाअनुसार आवश्यक छानबिन अघि बढाइने जनाएको छ।

प्रकाशित: १२ साउन २०८३ २२:२७ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast