काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुनसरीको देवानगन्ज गाउँपालिका-३ मा भएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम र विवेक अपनाउन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले भने,‘सुनसरीको देवानगन्जमा एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना हो।’
उनले वर्तमान वैज्ञानिक युग, बदलिँदो भूराजनीतिक परिवेश र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको सन्दर्भमा यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्ति र आम नागरिकले उच्च विवेक तथा संयम अपनाउनुपर्ने बताएका छन्।
भट्टराईले भने,‘अहिलेको वैज्ञानिक युग, बद्लिँदो भूराजनीति र नेपालमा भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा जेनजी विद्रोहपछि नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन उच्च विवेक र संयमको प्रयोग गरौं!’
देशलाई फेरि अस्थिरता र अविकासतर्फ धकेल्ने कुनै पनि गतिविधिप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै उनले थप भने,‘स्मरण रहोस्, अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट छैन। आगामी दिन अझै चुनौतीपूर्ण हुनसक्छन्। हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन!’


