गुल्मी-२ का संघीय सांसद माननीय गोविन्द पन्थी पछिल्ला तीन महिनामा तीन पटक गाउँ पुग्नुभएको छ। निर्वाचनताका हामीले सँगै उठाएका परिवर्तनका नाराहरू उहाँले अझै पनि दोहोर्याइरहनुभएको देखिन्छ। रिडीदेखि अग्लुङ, अर्खबाङ, नेटा, दर्लिङ हुँदै मुसिकोटसम्म पक्की सडकमार्फत केही घण्टामै यात्रा गर्दै पुराना नेतृत्वमाथि ‘खत्तम पारे, खाए, केही गरेनन्’ भन्ने आरोप लगाउँदै सामाजिक सञ्जालमा तस्बिर, अडियो र भिडियो सार्वजनिक गरिरहनुभएको छ।
तर गुल्मी जिल्लाको विगत ३५ वर्षको विकास यात्रालाई निष्पक्ष रूपमा हेर्ने हो भने सडक, विद्युत्, विद्यालय, स्वास्थ्य संस्था तथा पर्यटनलगायतका आधारभूत पूर्वाधारमा उल्लेखनीय प्रगति भएको तथ्यलाई नकार्न सकिँदैन। अपेक्षाअनुसार सबै काम नभए पनि भएका उपलब्धिलाई अस्वीकार गर्नु न्यायोचित हुँदैन।
गत निर्वाचनमा नयाँ शक्तिको लहर चलेको थियो। नेपाली राजनीतिप्रति बढेको असन्तुष्टि, विद्यमान विसंगति र परिवर्तनको चाहनाका कारण गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र चन्द्र भण्डारीजस्ता स्थापित नेताहरू समेत पराजित भए। त्यसैले पुराना जनप्रतिनिधि गाउँ आएनन्, जनतासँग भेटेनन्, सुनेनन् वा केही गरेनन् भन्ने तर्क अहिलेका नयाँ जनप्रतिनिधिका लागि पनि विश्वासयोग्य विषय बन्न सक्दैन।
आज सामाजिक सञ्जाल र सञ्चारमाध्यमको पहुँच फराकिलो भएकाले जनप्रतिनिधिका गतिविधि तुरुन्तै सार्वजनिक हुन्छन्। तर यसले विगतमा जनप्रतिनिधिहरू गाउँ पुगेका थिएनन् भन्ने अर्थ लाग्दैन। गुल्मीमा पहिलेका सांसदहरू एक महिनामै तीन-तीन पटक गाउँ पुगेका उदाहरण पनि प्रशस्त छन्। आज तम्घासबाट अग्लुङ पुग्न सहज भएको छ भने त्यसका पछाडि विगतका नेतृत्वको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ। पञ्चायत व्यवस्थाप्रति आलोचना हुन सक्छ तर त्यसबेलाका विकासप्रेमी नेता बैकुण्ठबहादुर चन्दलगायतका व्यक्तित्वको योगदानलाई अवमूल्यन गर्नु उचित हुँदैन।
कुनै पनि सांसदले एकैपटक सबै नागरिकको घरदैलो पुग्न सक्दैन। पहिले सडक र सञ्चारको अभाव हुँदा जनताको अपेक्षा आफ्ना प्रतिनिधि गाउँमै आइपुगून् भन्ने स्वाभाविक थियो। आज सडक सञ्जाल गाउँगाउँ पुगेको अवस्थामा सांसद अग्लुङ पुग्दा नयाँगाउँ, हाडहाडेलगायतका क्षेत्र पनि अप्रत्यक्ष रूपमा जोडिएकै हुन्छन्। त्यसैले निर्वाचनका बेला प्रभावकारी बनेका पुराना नारालाई निरन्तर दोहोर्याइरहनुभन्दा अब परिणाममुखी कामतर्फ ध्यान दिनु आवश्यक छ।
आजको प्रविधियुक्त युगमा सांसद गाउँमा कति पटक पुगे भन्नेभन्दा पनि जिल्लाको विकासका लागि के उपलब्धि हासिल भए भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। विचित्र गुफा, मदाने लेक, धुर्कोटको कोटजस्ता पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि के पहल भइरहेको छ? पिपलधारा, नयाँगाउँ र मुसिकोटमा उत्पादन हुने फलफूलको बजार व्यवस्थापन कसरी भइरहेको छ? कृषिको व्यवसायीकरण र आधुनिकीकरण, गाउँमै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि के योजना अघि बढिरहेका छन्?
त्यसैगरी पुर्कोट,धुर्कोट र मुसिकोटका क्याम्पसको सुदृढीकरणका लागि कति बजेट सुनिश्चित भएको छ? बाँदर र बँदेलको समस्याबाट पीडित किसानका लागि के समाधान खोजिएको छ? स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा के परिवर्तन भएका छन्? यस्ता विषय नै जनताले सुन्न चाहेका वास्तविक प्रश्न हुन्।
‘पुरानाले केही गरेनन्, हामीले सबै गर्छौं’ भन्ने अभिव्यक्ति चुनावी अभियानमा प्रभावकारी हुन सक्छ। तर निर्वाचन सम्पन्न भएपछि जनताले नाराभन्दा नतिजा खोज्छन्। दलगत प्रतिस्पर्धाका बेला बिक्ने भाषण अहिले विकासको मापन बन्न सक्दैन। जनताले बिकाउ होइन टिकाउ योजना र त्यसको कार्यान्वयन चाहेका छन्।
सामाजिक सञ्जालमा भाइरल हुने क्षणिक लोकप्रियताले जिल्लाको दिगो विकास सम्भव हुँदैन। त्यसैले अब निर्वाचनका बेला बनाइएका तात्कालिक नाराभन्दा दीर्घकालीन विकासका योजना गाउँमा पुर्याउन आवश्यक छ। रोजगारीका लागि विदेश वा सहर पलायन भएका युवायुवतीलाई आफ्नै गाउँ फर्काउने वातावरण सिर्जना गर्न सकियो भने त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ।
माननीयज्यू,तपाईं गाउँमा कति पटक आउनुभयो भन्नेभन्दा पनि काठमाडौँमा बसेर जिल्लाका लागि कति प्रभावकारी योजना ल्याउनुभयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आवश्यक परे धेरै समय राजधानीमै बस्नुस् तर गुल्मीका लागि दिगो विकासका कार्यक्रम, पर्याप्त बजेट र परिणाममुखी योजना ल्याउनुस्। त्यसले गुल्मी मात्र होइन समग्र देशकै विकास यात्रामा नयाँ इतिहास रच्न सक्छ।
इतिहासलाई अस्वीकार गरेर होइन त्यसबाट सिकेर अगाडि बढ्नुपर्छ। राजनीतिक दृष्टिकोणलाई अझ फराकिलो बनाउँदै तपाईं गुल्मी-२ का नयाँ वा पुराना समर्थकहरूको मात्र होइन सम्पूर्ण जनताको अभिभावकका रूपमा प्रस्तुत हुन सक्नुपर्छ।



