क्यानडामा ‘तेस्रो नेपाल फेस्टिवल-२०२६’ हुँदै, गायक सेन्चुरीले प्रस्तुति दिने

हिमाल प्रेस ९ साउन २०८३ १९:३३ | Saturday, July 25, 2026
18
SHARES
क्यानडामा ‘तेस्रो नेपाल फेस्टिवल-२०२६’ हुँदै, गायक सेन्चुरीले प्रस्तुति दिने

काठमाडौँ – क्यानडाको ब्राम्पटन सहरमा आज (शनिबार) ‘तेस्रो नेपाल फेस्टिवल–२०२६’ हुने भएको छ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा यो फेस्टिवल हुन लागेको हो।

नेपाली कला संस्कृति, गीत संगीत, भेषभुषा, नेपाली खानको परिकार, नेपाली हस्तकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।

फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष विश्व अधिकारीले जानकारी दिए। मञ्चको तयारीका साथै कार्यक्रम स्थल वरपर नेपाली झन्डा र नेपाली संस्कृति झल्किने ब्यानर तथा सजावटको व्यवस्था गरिएको उनले बताए।

ब्राम्पटन सिटीको सपर वल्र्ड कम्पलेक्सको प्राङ्गणमा स्थानीय समयअनुसार दिउँसो १ बजेबाट बेलुकी ९ बजेसम्म महोत्सव सञ्चालन हुनेछ।

महोत्सवमा नेपाली खानाको परिकारका स्टलसहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोर्ट्स एनड कल्चरल क्लबका महासचिव एवं महोत्सव मूल समारोह समितिका सदस्य धर्म न्यौपानेले जानकारी दिए।

महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेशीलगायत विभिन्न जातजातिका भेषभुषासहितको झाँकी, नृत्य र लाखेनाच प्रस्तुत हुनेछन्।  महोत्सवमा प्रवेश र पार्किङको निःशुल्क व्यवस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए।

करिब १० हजारभन्दा बढीको सहभागिता रहने क्लबका उपाध्यक्ष एवं महोत्सव मूल समारोह समितिका सदस्य श्याम अर्यालले जानकारी दिए।

गत वर्षहरूमा पनि लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटन सिटीमा महोत्वस भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार हुने महोत्सवको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्नेछन्। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरलमन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय सांसद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटालगायतका व्यक्तिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

महोत्सवमा लोक गायक खेम सेन्चुरीसहितका कलाकारले प्रस्तुति दिनेछन्। गायक सेन्चुरी संगीतकारका साथै मोडलसमेत हुन्। उनले कार्यक्रममा एक दर्जनबढी गीत प्रस्तुत गर्ने बताइएको छ।

त्यस्तै महोत्सवमा गायक चेतन सापकोटा, लोक गायिका देवीका केसी, गायक मानसिंह खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदीलगायत दर्जनबढी कलाकारले नृत्य तथा आफ्नो प्रस्तुति गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: ९ साउन २०८३ १९:३३ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast