कर्णालीमा नयाँ सरकार गठनको गृहकार्यमा कांग्रेस र नेकपा

हिमाल प्रेस ८ साउन २०८३ २०:०५ | Friday, July 24, 2026
32
SHARES
कर्णालीमा नयाँ सरकार गठनको गृहकार्यमा कांग्रेस र नेकपा

काठमाडौँ- कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन्।

मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन्।

गत असार ३१ गते सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

उक्त प्रस्ताव दर्ता गरेको एक हप्तापछि सभामुख नन्दा गुरुङले यही साउन ७ गते बैठक बोलाएका थिए।

सभामुख गुरुङले बिहीबार बोलाएएको बैठक विशेष कारणवश बस्न नसकेको सूचना सार्वजनिक गर्दै साउन ९ गते दिउसो ३ः०० बजे बस्ने तय भएको जानकारी दिइन्।

कर्णाली प्रदेशसभामा नेकपाका नेता मंगलबहादुर शाहीले असार ३२ गते प्रदेशसभा सचिवालयमा पेस गरेको मुख्यमन्त्री कँडेल विरुद्धको अविश्वास प्रस्तावका पक्षमै मतदान गरेर नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढ्ने बताए।

‘हामी आफ्नो निर्णयका आधारमा अगाडि बढ्छौँ,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ। नेकपाले त्योभन्दा अरु फरक कुनै देखेको छैन र सम्भव पनि हुँदैन।’

कर्णाली प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले नेकपासँग भएको समझदारीका आधारमा नै कांग्रेस अगाडि बढेको बताए।

उनले भने, ‘नेकपाकै समर्थनमा हाम्रो दलको नेतालाई सरकारको नेतृत्व गर्ने सहमतिबाट मुख्यमन्त्री प्रस्ताव गरेर अगाडि बढेका हौँ। अब छिट्टै कांग्रेस र नेकपाको समीकरणमा नयाँ सरकार गठन हुन्छ।’

कर्णाली प्रदेशसभामा हाल ४० प्रदेशसभा सदस्य छन्। सरकार गठन गर्न २० सदस्य आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका १५ र नेकपाका १४ प्रदेशसभा सदस्य रहेका छन्।

प्रकाशित: ८ साउन २०८३ २०:०५ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast