नियात्रा

वनपथले घेरिएको फूलचोकी थुम्का

अमृतप्रसाद पौड्याल ९ साउन २०८३ ९:३८ | Saturday, July 25, 2026
8
SHARES
वनपथले घेरिएको फूलचोकी थुम्का

‘तिहारलगत्तै गएको गोसाइँकुण्ड पैदलयात्राबाट फर्किएपछि हामी कतै हिँडेका छैनौँ, लौ न उपत्यका वरिपरिको कुनै उपयुक्त ठाउँमा हिँडौँ!’ हाइक फर हेल्थका हामी हिँडन्तेहरू चैत पहिलो साता मोबाइलमा गफिँदै थियौँ। गफ गरेको लगभग पन्ध्र दिनपछि २०८२ चैत २९ गते आइतबार बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा अवस्थित फूलचोकी डाँडा (२,७५७ मिटर) चढ्ने चाँजोपाँजो मिल्यो। संयोग पनि कस्तो भयो भने सरकारले हामी जागिरेहरूलाई आइतबार बिदा दिन थालेकाले त्यसको पूर्ण सदुपयोग गर्दै उपत्यकाको सातदोबाटो (चक्रपथ) बाट करिब ९.५ किमि दुरीमा रहेको काठमाडौँ सहरबाट दक्षिणपूर्वमा पर्ने गोदावरीतर्फ लाग्यौँ।

जैविक विविधतायुक्त दृष्टिकोणले महत्त्वपूर्ण राष्ट्रिय वनस्पति उद्यान, पवित्रधाम गोदावरी कुण्ड, वरिपरि बाक्लो हरियो जंगल, फूलचोकी डाँडाको फेदीमा रहेको सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गोदावरी काठमाडौँ उपत्यका नजिकको एक रमणीय गन्तव्य हो। उद्यान र कुण्डतर्फ जाने बाटोको मुखमै रहेको एक चमेनागृहमा एक कप चिया खाँदै सुस्ताएर त्यहाँबाट पूर्वउत्तर चापाखर्कतर्फ हिँड्न थाल्दा बिहानको साढे नौ बजेको थियो।

सार्वजनिक बिदाको दिन भएर होला पिकनिक मनाउन तथा उद्यान घुम्न आउनेहरू पनि यत्रतत्र रमाइरहेका देखिन्थे। चापाखर्कसम्म नागबेली आकरमा बनेको मोटर चल्ने कच्ची बाटोमा हिँड्न सुरु भयो। कहीँ कतै रूखपात-बुट्यानले भरिएको भित्तातिर उक्लँदै पातलो वनभित्रबाट हिँड्दा पुनः उही बाटो भेटिन्थ्यो। तर पदयात्राको रमाइलो त त्यही झाडी, रूखपातभित्रको वातावरणमै भेटिन्थ्यो। माथिमाथि उक्लँदै जाँदा तलका भेगमा देखिने वनस्पति, जंगल, परसम्म फैलिएको हरियालीयुक्त डाँडो र माथि नीलो आकाशको सुन्दरताले मन चंगाजस्तै हलुंगो बनाउँथ्यो।

करिब एघार बजे चापाखर्क पुग्यौँ। भन्ज्याङछेउको पसल भएको एक घरको आँगनमा घरबेटीसँग भलाकुसारी गर्दै उहाँको अनुमतिमा मेचमा झोला अड्यायौँ र त्यसभित्रका स्याउ, सुन्तला तथा केरा खाँदै केहीबेर विश्राम गर्‍यौँ। अनि त्यहाँबाट पूर्वतर्फ मोडिई फूलचोकी चुचुरोतर्फको बाटो पछ्याउन थालियो। मार्गको भुइँमा वा दायाँबायाँ छेउमा रहेका कुनैकुनै ढुंगाहरूमा सेतो र पहँलो रङ पोतिएको पाइयो।

क्रमशः हिँड्दै, उक्लँदै जाँदा करिब २० मिनेटपछि पुनः फराकिलो कच्ची बाटो आइपुग्यों। बाटोको एकातर्फ अग्लो भिर, त्यसमा ढकमक्क उम्रिएका रूखपात, झाडी, बुट्यान र अर्काेतर्फ तलसम्म देखिने भिरालो जमिन, त्यहाँ पनि उस्तै हरियाली। ठाउँठाउँमा भेटिएका गुराँसका बोटमा मुस्कुराउँदै फुलेका फूलहरू, अन्य वस्पतिमा फक्रिएका पहेँला र नीला फूल, यत्रतत्र उडिरहेका सेता,पहेँला तथा खैरा पुतलीहरूले मध्यदिनको घामले तातिएका शरीरमा बेग्लै उत्साह भरिरहेका थिए।

लगभग आधा घण्टाको हिँडाइपछि फराकिलो बाटोलाई दाहिनेतर्फ छोड्दै देब्रेतर्फको वनभित्र छिर्ने मार्ग पछ्यायौँ। सँगैको कान्लामा पोतिएको पहेँलो रङमा कोरिएको तिर आकारले वनतर्फ नै देखाएको थियो। मध्याह्नको घाममा हिँडिरहेका हामी बाक्लो एवं झ्याम्म परेको झाडी र बुट्यानको मध्यबाट घना जंगलतर्फ छिर्दा बाक्लो कालो छायामा आँखाले बाटोको भेउ पाउनसमेत मुस्किल भएको थियो जुन क्षण यात्राको रोमाञ्चक एवं अविस्मरणीयसमेत थियो। खोल्साजस्तो गोरेटोमा लहरे वनस्पतिका हाँगा-पात पन्छाउँदै, भुइँमा छरिएका सुकेका पातको ह्रासमा टेक्दै् हिँडदा आउने च्रमच्रम ध्वनिमा मिसिने चराचुरुंगीका चिरबिर र हावाको सिरसिरले मनमस्तिष्क स्वच्छ बनाएको थियो।

अगाडि बढ्दै जाँदा औसत बीस-तीस मिटरको दुरीमा ढुंगामा वा रूखका खाँबोमा पोतिएका वा ठोकिएका क्रमशः सेतो-पहेँलो वा रातको समयमा कुनै प्रकारको प्रकाश परेपछि टल्कने ससानो आकारका बाक्लो कागजझैँ देखिने टुक्राहरूको प्रयोजन ठ्याक्कै थाहा नभए पनि सायद बाटो देखाउने सूचकहरू होलान् भनी अन्दाज लगायौँ हामीले। माटो, पातपतिंगर र ससाना वनस्पतिहरूले ढाकिएका पुराना सिँढीहरू ठाउँठाउँमा भेटिँदा बाटो पहिल्याउन खासै अप्ठ्यार भएन। चुचुरो पुग्नुपर्ने भएकाले भिरको ठाडोपन बढ्दै गर्दा स्याँस्याँ र फ्याँफ्याँ हुन स्वभााविक थियो। सायद हाम्रो फोक्सोले संघर्ष गरिरहेको भए पनि मध्यदिनमा बाक्लो जंगलको शुद्ध हावा आफूभित्र समाहित गर्न पाएकोमा हामीलाई धन्यवाद दिइरहेको थियो। भुइँभन्दा माथिको भाग गोलो, मोटो अनि झन्डै एकजना मानिस छिर्न सक्ने टोडको वा वारपार गर्न मिल्ने ढोकाजस्तो आकृतिमा उमेर धेरै भएका बडेमानका रूखहरू, त्यसका हाँगाहरूमा बाक्लो गरी उम्रिएका सुनाखरी प्रजातिका वनस्पतिले मनोरम बनाएको स्थानमा केही बेर आराम गर्दै सुस्तरीसुस्तरी उक्लिँदै थियौँ।

मस्त यौवन छचल्किएको प्रकृतिको आङमा मानिसले गरेको ज्यादती; प्लास्टिकका बोतल, बिस्कुट तथा चक्लेटका खोल, चाउचाउका प्याकेट र जुसका बट्टाजस्ता प्राकृतिक रूपमा कुहिन नसक्ने वस्तु यत्रतत्र छरिएको देख्दा मन अमिलो भयो। भरि हुँदा बोकेर ल्याउन सक्ने, तर खाएर हलुका भएपछि खोल फिर्ता लैजान नसके पनि कम्तीमा तोकिएको ठाउँ वा भाँडोमा मात्रै फालिदिन सक्दैनौँ र? यस्तै सोच्दै चापाखर्कबाट हिँडेको करिब दुई घण्टापछि गोदावरीबाट माथितिर आएको फराकिलो मोटर बाटोमा निस्कियौँ। दुई सय मिटर हिँडेपछि ‘फूलचोकी शून्य किमि’ लेखिएको दुरीसूचक शिला देखियो र दिनको दुई बजे फूलचोकी डाँडाको थुम्को उक्लने भर्‍याङको मुखमा पुग्यौँ।

यत्रतत्र छरिएका विभिन्न आकृतिका ठूलासाना ढुंगाहरू, त्यस्तै एक अलि फराकिलो ढुंगाको आडमा स्थापित फूलचोकीमाईको थान, सँगै रहेका अन्य देवीदेवताका मूर्तिहरू, चैत्य, माईलाई चढाइएको सानाठूला त्रिशूललगायतका अन्य फलामे वस्तुहरू तथा बतासमा फरफराइरहेका बाक्लो लुंगताका लहराहरूले सुसज्जित थुम्को साँच्चै प्राकृतिक तथा धार्मिक दुवै रूपमा आकर्षक थियो। माईको दर्शन गर्दै अन्य यात्रुझैँ फोटो खिच्नेहरूको लहरमा हामी पनि समाहित भयौँ। छेउमै अग्लो फलामे सञ्चार टावर ठिंग उभिएको थियो। फूलचोकी डाँडोको यो भागलाई नेपाली सेनाले सुरक्षा दिएको रहेछ।

हिँड्ने क्रममा हामीले प्रत्यक्ष नदेखे पनि उपलब्ध औपचारिक जानकारीअनुसार बाक्लो जंगल भएको कारण फूलचोकी क्षेत्र विभिन्न प्रजातिका चराचुरुंगी तथा जनावरहरूको बासस्थानका रूपमा परिचित छ। चराचुरुंगी अवलोकनका लागि पनि फूलचोकी क्षेत्र उपयुक्त गन्तव्य रहेछ। लगभग चारै दिशाबाट फैलँदै फेदीदेखि टुप्पोसम्मकै अधिकांश भाग बाक्लो जंगलले घेरीएकाले प्राकृतिक रुपमा यस स्थलको बेग्लै आकर्षण रहेको छ। घुमन्तेहरू एकै ठाउँमा जम्मा भए। एकमात्र नास्ता पसल रहेकोले पालो कुर्दै चिया र हल्का नास्तासँग गफगाफमा करिब डेढ घण्टा त्यहाँ बिताइयो।

साढे तीन बज्न लागेपछि गोदावरीतर्फ फर्कन सुरु गरियो। ठाउँठाउँमा ढलान गरिएको र अधिकांश भाग ग्राबेल गरिएको फूलचोकी-गोदावरी मोटर बाटो हुँदै ओर्लँदा झन्डै सिंह उभिएको आकृति झल्काउने दुई ढुंगाका स्वरूप, सूर्यकुण्ड नामक सानो पोखरी तथा बाटोको दुवैतर्फ अग्लाअग्ला रूखहरूले ढाकेको दृश्य निकै आकर्षक देखिन्थ्यो। स्तरोन्नतिका क्रममा रहेको सडकको सतहमा कतैकतै ढलान गरिएको भाग र माटोको सतहबीच तालमेल नमिलेको, ठूलाठूला ढुंगाहरू राम्ररी नदबिएको लगायतका अवस्थाले दुईपांग्रे एवं साना क्षमताका चारपांग्रेहरूलाई भने केही सकस परेको देखिन्थ्यो।

साँझ पर्न लाग्दासमेत दुईपांग्रे र चारपांग्रेहरू माथितिर उक्लिरहेका थिए। वाहनमार्फत सहजै टाकुरामा एकाध घण्टा बिताउन फुत्त पुग्न सक्ने भएकाले फूलचोकी क्षेत्रमा मानिस आवतजावतले यस गन्तव्यको महत्त्व अझ बढाएको अनुभव भयो। हामीसँगै केही हिँडन्तेहरू पनि ओर्लिरहेका थिए। ओर्लँदै गर्दा फराकिलो मोटर गुड्ने बाटोमै सीमित नबसी केही समय बचाउने उद्देश्यले हामीले बीचबीचमा घुमाउरो सडकलाई काट्दै गएका सीधा गोरेटोहरू पछ्याएका थियौँ। कतिपय स्थानमा बाटो निर्माणका क्रममा पुराना निकासहरू अवरुद्ध भएको समेत देखियो।

४५ मिनेट जतिको यात्रापछि हामी गोदावरी-फूलचोकी सडकको बीचतिर आइपुग्यौँ। त्यहाँ पुरानो सिँढीयुक्त पदमार्ग भेटियो, जुन जंगलको भित्री भाग हुँदै जाने रहेछ। फराकिलो फूलचोकी-गोदावरी सडक छाडेर हामी त्यही पदमार्ग पछ्याउँदै ओरालो लाग्यौँ। केही बेरमै वन अझ बाक्लिँदै गयो र हामी घना जंगलको शीतल छायाभित्र हिँड्न थाल्यौँ। साँझ ढल्कँदै थियो। सिरसिर हावा चलिरहेको थियो र अस्ताउन लागेको सूर्यका किरणहरू वनको बाक्लो आवरण छिचोल्दै कहिलेकाहीँ झल्याकझुलुक देखिन्थे। अग्ला रूखहरू र बाक्लो नर्कटका झ्याङहरू पार गर्दै अघि बढिरहँदा पश्चिमी क्षितिजमा डुब्न लागको सूर्यको सुनौलो प्रकाश कतैकतै जंगलभित्र पसिरहेको देखिन्थ्यो।

मूलबाटोको ठाउँठाउँमा राखिएको जानकारीमूलक बोर्डहरूमा समेत यसरी छोटो एवं भित्री बाटोहरू जंगलभित्रको सरसफाइको प्रयोजनका लागि भनी उल्लेख गरेकाले केही ढिलोचाँडो हुने भए पनि फराकिलो मोटर गुड्ने मूलबाटो हिँड्न सचेत गराइएको रहेछ। बाक्लो जंगल भएकाले चितुवा, बँदेललगायतका हिंस्रक जनावरहरूले आक्रमण गर्न सक्ने जोखिम रहेको जानकारी उक्त बोर्डमा लेखिएको थियो।

कुनै कुनै रूखको मोटो तनामा परेको त्यस्तो उज्यालोलाई टाढाबाट हेर्दा मानौँ आगो दन्किरहेको हो कि जस्तो आभास भएको थियो। यसरी फर्कने बेला छिटो गन्तव्यमा पुग्ने सोचले फराकिलो मूल बाटो छोडेर यस्ता वैकल्पिक मार्ग रोज्दा अक्सर साँझ गहिरिँदै जाँदा उज्यालो क्रमशः कम हुँदै जाने, शारीरिक थकान बढ्दै जाने, बाक्लो जंगल भएकाले मोबाइल फोनको संकेत हराउँदा सम्पर्क गर्ने माध्यम नहुने भएकाले बाटो भुली जंगलभित्र हराउने जोखिम हुने भएकाले जोखिम लिएर नहिँडनु उपयुक्त हुने अनुभव गरियो।

मूलबाटोको ठाउँठाउँमा राखिएको जानकारीमूलक बोर्डहरूमा समेत यसरी छोटो एवं भित्री बाटोहरू जंगलभित्रको सरसफाइको प्रयोजनका लागि भनी उल्लेख गरेकाले केही ढिलोचाँडो हुने भए पनि फराकिलो मोटर गुड्ने मूलबाटो हिँड्न सचेत गराइएको रहेछ। बाक्लो जंगल भएकाले चितुवा, बँदेललगायतका हिंस्रक जनावरहरूले आक्रमण गर्न सक्ने जोखिम रहेको जानकारी उक्त बोर्डमा लेखिएको थियो।

गोदावरीदेखि फूलचोकीसम्म बाक्लो जंगल भएकाले छोटो बाटोभन्दा फराकिलो बाटो पछ्याउँदा दुरी लामो भए पनि हिँडाइमा सहज हुने अनुभव गरियो। भलै भित्री बाटोको हिँडाइमा जोखिम र रोमाञ्चकता दुवै पाइन्छ। करिब डेढ घण्टा ठाडै ओरालो नापेपछि साँझको छ बज्नै लाग्दा फूलचोकी भवानी नवधाराको समीप पुगियो। परिसरभित्र भवानी मन्दिर, कुण्ड र ढुंगाका नौवटा धारा रहेछन्। ढुंगेधारोबाट झरेको पानीले मुख धुँदा हिँडेर लखतरान परेको शरीरमा ऊर्जा प्राप्त भएको अनुभूति भयो।

त्यसपछि हिँड्दै फूलचोकी जाने मूलबाटो- जसलाई हामीले छोटो बाटो पछ्याउने क्रममा माथितिर छाडेका थियौँ- मा पुग्यौँ। साँझको ६ बजे गोदावरी उद्यान जाने मोडमा आइपुग्यौँ।

बिहान साढे नौ बजे सुरु भएको करिब २१ किमि पैदल यात्रा बिट मार्दै डा. उमेश खनाल, डा. गेहराज दाहाल, डा. सुशील पौडेल, डा. प्रेम बसेल, सुनिल पोखरेल, कालीप्रसाद रोयसारा, प्रज्वल बसेल र अमृतप्रसाद पौडेल घर फर्कियौँ चंगाझैं हलुको मन र लखतरान तन लिएर।

प्रकाशित: ९ साउन २०८३ ९:३८ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast