काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ प्रस्थान गरेका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म हुने भ्रमणका क्रममा बेइजिङमा आयोजना हुने १३औं बेइजिङ सियाङसान फोरममा सहभागी हुने कार्यक्रम छ।
बेइजिङ प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी प्रदीप जंग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए।
भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।
भ्रमणअघि जंगीअड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो।
उनको अनुपस्थितिमा रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।



