काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ६७औँ वार्षिकोत्सवका अवसरमा गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र सूचना प्रविधिको प्रभावकारी उपयोगलाई आगामी प्राथमिकतामा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा थप केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।
उपकुलपति प्रा.डा.भोला थापाले वार्षिकोत्सवका अवसरमा जारी गरेको शुभकामना सन्देशमा त्रिविले नेपालको उच्च शिक्षाको अग्रणी तथा ऐतिहासिक प्राज्ञिक संस्थाका रूपमा ज्ञान, सूचना, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
त्रिविअन्तर्गतका चार संकाय र पाँच संस्थानमार्फत सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमप्रति विद्यार्थीको आकर्षण र विश्वास निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ। यस उपलब्धिको श्रेय विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा सरोकारवालाको सामूहिक योगदानलाई दिइएको छ।
त्यस्तै, आर्थिक विकास तथा प्रशासन केन्द्र, नेपाल तथा एसियाली अध्ययन केन्द्र, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, शैक्षिक नवप्रवर्तन तथा विकास अनुसन्धान केन्द्र तथा केन्द्रीय पुस्तकालयले अध्ययन, अनुसन्धान र ज्ञान उत्पादनमा उल्लेखनीय योगदान पुर्याइरहेको पनि सन्देशमा उल्लेख छ।
उपकुलपति थापाले बदलिँदो विश्व परिवेश, तीव्र वैज्ञानिक तथा प्राविधिक विकास र ज्ञानमा आधारित अर्थतन्त्रको मागअनुसार विश्वविद्यालयको शैक्षिक, अनुसन्धानमूलक तथा प्रशासनिक संरचनालाई अझ सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन्।
उनले गुणस्तरीय शिक्षा, समयसापेक्ष पाठ्यक्रम, प्रभावकारी शैक्षिक क्यालेन्डर, अनुसन्धानमुखी वातावरण, अत्याधुनिक पूर्वाधार तथा सुशासनमा आधारित व्यवस्थापन प्रणालीलाई वर्तमानका प्रमुख प्राथमिकता भएको उल्लेख गरेका छन्।
सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, शैक्षिक कार्यक्रमको पुनर्संरचना, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, अन्तरविषयक सहकार्य, अनुसन्धान कोष विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरणलाई आगामी रणनीतिक प्राथमिकताका रूपमा अघि बढाइने जनाइएको छ।
उपकुलपतिले राष्ट्रिय आवश्यकता तथा विश्वव्यापी श्रमबजारको मागअनुसार दक्ष, सिर्जनशील, नैतिक र प्रतिस्पर्धी मानव स्रोत उत्पादनमा विश्वविद्यालय निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गरेका छन्।

