काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार गठन भएको चार महिनाकै अवधिमा देश द्वन्द्वमा फस्न लागेको शंका उत्पन्न भएको बताएका छन्।
पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मुलुक ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनले यसलाई रोक्न सरकारका साथै सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने उल्लेख गरे।
अध्यक्ष घिसिङले द्वन्द्वको अवस्था आउनुमा सरकारले जिम्मेवारी लिनुपर्ने बताए। उनले भने,‘दुई तिहाइको सरकार छ, जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आमनागरिकको इच्छा आकांक्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ।’
नेपाली नागरिकले आत्मदाह गर्ने स्थिति सिर्जना भएको भन्दै उनले यो घटना लामो समयको निराशाको परिणाम रहेको जिकिर गरे। निराशाको परिणाम सिर्जना गर्नेहरु सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
निराशा ल्याउनुमा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको रहने उनले बताए। घिसिङले सरकारले अमानवीय व्यवहार देखाएको कारण पनि देशभर निराशा छाएको जिकिर गरे।
उनले निराशा र आक्रोशको बादल हिजोभन्दा आज बढेको उल्लेख गरे। तीन महिनाको अवधिमा सरकार आशा जगाउन सफल हुन नसकको उनको भनाइ छ।
घिसिङले सरकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्न आफूहरू पछाडि नहट्ने प्रस्ट पारे। अहिलेकै व्यवहारले सरकार पाँच वर्ष नटिक्ने उनको दाबी थियो।
‘सरकारको राम्रो कामलाई समर्थन गर्छौँ, गलत कामको विरोध गर्छौँ, सरकार पाँच वर्ष टिकोस् भन्ने हाम्रो चाहना छ। तर, यही तरिकाले सरकार पाँच वर्ष टिक्दैन,’ उनले भने।
उज्यालो नेपाल पार्टी निरन्तर अगाडि बढिरहने उल्लेख गर्दै घिसिङले आफू एक्लै भए पनि पार्टीलाई अगाडि बढाउने जिकिर गरे।

