काठमाडौँ- कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए। आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए। ‘हो हामी चारैजनाले राजीनामा दिएका हौँ।’ भण्डारीले हिमाल प्रेससँग भने।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो । सरकारको नेतृत्व राजीवविक्रम शाहले गरेका थिए ।
कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए। कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए। तत्कालका लागि कडेल नेतृत्वको सरकार संकटमा परेको छ।
कर्णाली प्रदेश सभा ४० सदस्यीय हो। कर्णालीमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए। यहाँ कांग्रेसको १४ सिट, नेपाल कम्युनिष्ट पार्टीको १४ सिट, नेकपा एमाले १० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट छ। मुख्यमन्त्रीले बहुमत पुर्याउन २१ मत आवश्यक पर्छ। तर माओवादी वा कांग्रेसको सहयोग बिना बहुमत नपुग्ने निश्चित छ।



