आदिकवि भानुभक्तबारे ३२ रोचक तथ्य

प्रा. दिवाकर प्रधान २९ असार २०८३ १७:३१ | Monday, July 13, 2026
28
SHARES
आदिकवि भानुभक्तबारे ३२ रोचक तथ्य

असार २९ नेपाली भाषाका अमर साधक भानुभक्त आचार्यको जन्मजयन्ती हो। नेपाली भाषालाई जनभाषाको साहित्यिक अभिव्यक्ति प्रदान गर्ने, संस्कृतको ज्ञानलाई नेपाली समाजसम्म सहज भाषामा पुर्‍याउने र रामायणमार्फत नेपाली भाषाको साहित्यिक प्रतिष्ठा स्थापित गर्ने कविका रूपमा भानुभक्तको योगदान अद्वितीय मानिन्छ। यद्यपि भानुभक्तको जन्मवर्ष, न्वारानको नामदेखि ‘आदिकवि’ उपाधिसम्मका विषयमा विद्वान्‌हरूबीच विभिन्न मत र बहस रहँदै आएका छन्। पछिल्ला अनुसन्धानले उनको न्वारानको नाम ‘देवीभक्त’ नभई ‘चिरञ्जीवी’ रहेको दाबी गरेका छन् भने जन्मवर्ष पनि १८६९ र १८७१ विक्रमाब्दबीच विवादित रहँदै आएको छ। त्यसैगरी ‘आदिकवि’ उपाधि साहित्यिक परम्परा, राज्यको मान्यता र विद्वत् बहसका बीच स्थापित भएको देखिन्छ।

भानुभक्तका रचना खोजी गरी प्रकाशमा ल्याउने श्रेय मोतीराम भट्टलाई जान्छ भने पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, नरेन्द्रराज प्रसाईलगायतका अनुसन्धानकर्ताले उनको जीवन र कृतित्वलाई थप उजागर गरेका छन्। दार्जिलिङ, सिक्किम, असम हुँदै नेपालसम्म भानुजयन्ती मनाउने परम्परा विस्तार हुनु, उनका नाममा मूर्ति, डाक टिकट, ग्रन्थावली, अनुसन्धान, नाटक, वृत्तचित्र र अनुवाद प्रकाशित हुनु तथा उनको रामायण विभिन्न भाषामा अध्ययन र अनुवाद हुनु भानुभक्त नेपाली भाषा, साहित्य र सांस्कृतिक चिनारीका साझा प्रतीक बनेको प्रमाण हो। आज उनको जन्मजयन्ती मनाइरहँदा नेपाली भाषालाई सरल, शुद्ध र जनसामान्यको जीवनसँग जोड्ने उनको योगदानलाई स्मरण गर्नु नै उनीप्रति सच्चा सम्मान हुनेछ।

प्रस्तुत छ भानुबारे ३२ रोचक टिपोट :

१. भानुभक्तको न्वारानको नाम देवीभक्त हो। यो कुरो भीमनिधि तिवारीद्वारा रचित वरशिक्षा (१९५५) को स्वकथनमा जनाइएको पाइन्छ। आमोद आचार्यका अनुसार ‘रङ्गनाथ ज्ञवालीले झुक्किएर भानुभक्तको न्वारानको नाम ‘देवीभक्त’ लेख्न पुगेछन् (भानुभक्तमणिमाला, वि.सं. १९९८)। तेसपछि अरूले पनि ‘देवीभक्त’ नै लेख्न थालेछन्। वास्तविक नाम ‘चिरञ्जीवी’ भएको अवगत हुन्छ। यस विषयमा आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रको तृतीय संस्करणमा (बुकहिल प्रकाशन, २०८२) विस्तृत विवेचना गरिएको छ।’

२. भानुभक्तका बाबु र आमाका नाम ‘ध’ वर्णबाट उठेका छन् – धनञ्जय र धर्मवती।

३. अन्वेषक मोतीराम भट्टले भानुभक्तको जन्म वर्ष विक्रमाब्द १८६९ अर्थात् इसाब्द १८१२ मानेका छन्। भानुभक्तकी नातिनी तथा रमानाथकी छोरी विष्णुमायाले आफ्नो ग्रन्थ ‘भानुभक्त मणिमाला’ (इ. १९४१) मा भानुभक्तका प्रियमित्र धर्मदत्त ज्ञवालीका नाति रङ्गनाथ शर्मालाई ‘परिचय’ शीर्षकमा भूमिका लेखाएर कुण्डलीसहित जन्ममिति २९ असार १८७१ (१३ जुलाई १८१४) अग्रसारित गरेकी छन्। अहिले विक्रमाब्द १८७१ अर्थात् इसाब्द १८१४ -लाई नेपाल सरकार र भारतका कतिपय राज्य सरकारले आधिकारिक मान्यता दिएको छ।

४. मोतीराम भट्टले ‘भानुभक्त गोरखा भाषाका आदिकवि हुन्’ लेखे तर जनताले आदिकवि मानेनन्। श्री ३ जुद्धशमशेरले ‘भानुभक्तलाई आदिकवि माने हुन्छ’ भनेपछि आदिकवि भन्न थालियो। दीननाथ सापकोटा, ताना सर्मा, गुमानसिंह चामलिङहरू ‘आदिकवि’ उपाधिको पक्षमा थिएनन्।

५. नेपाली साहित्य सम्मेलनबाट प्रकाशित रघुनाथ भट्टको ‘सुन्दरकाण्ड’ को मुखबन्धमा दीननाथ सापकोटाले भानुभक्तलाई ‘पुराना योग्य कवि’ मान्दै रघुनाथलाई ‘आदिकवि’ मान्नुपर्ने मत व्यक्त गरेका छन्। त्यस बेला पारसमणि प्रधान र मृगेन्द्रशमशेर सशक्त रही आदिकवित्वको पक्षधर बनेका थिए।

६. वासुदेव त्रिपाठीको मतमा वाल्मीकिभन्दा अघि कैयौँ वैदिक कवि अनि उशना र शुक्रजस्ता लौकिक कवि हुँदाहुँदै पनि रामायणका रचयिता वाल्मीकिलाई नै आदिकवि मानिएजस्तै नेपालीमा आदिकवि उपाधि भानुभक्तमै रूढ भइसकेको छ।

७. भानुभक्तका अनन्य भक्त सूर्यविक्रम ज्ञवालीले भानुभक्तलाई ‘आदिकवि’ मान्नुभन्दा ‘जातीयकवि’ मानेको पाइन्छ। उनको सम्पादनमा प्रकाशित ‘भानुभक्त स्मारक ग्रन्थ’ (१९४०) को भूमिकामा अनि ‘भानुभक्त’ शीर्षक लेखमा : क ) ‘जातीय कवि’, ख) ‘नेपाली साहित्यका ध्रुवतारा’, ग) ‘कहिल्यै ननिभ्ने अग्निशिखा’ र घ) ‘मानिस मात्रका हृदयलाई शान्त शीतल पार्ने चन्द्रज्योत्स्यना’ उपमाले अलङ्कृत गरेका छन्।

८. मोतीराम भट्टको ‘भानुभक्ताचार्यको जीवन चरित्र’ (१८९१) लाई डा. मोतीवीर राईले अङ्ग्रेजी अनुवाद ‘दि लाइफ अब् भानुभक्त आचार्य’ (१९८६) प्रकाशमा ल्याएका छन्। यसको बङ्गला अनुवादचाहिँ हरेन घोषबाट भएको छ।

९. सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) को प्रयासमा नेपाली साहित्य सम्मेलनले इसाब्द १९२७ मा भानुभक्तको ‘वधूशिक्षा’ र १९३२ मा गोरखनाथ एन्ड कम्पनीबाट ‘रामायण’ प्रकाशमा ल्याएको थियो।

१०. बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गऱ्याझैँ अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।

यस पद्यमा प्रयुक्त दुई शब्द डिट्ठा र बिचारी के हुन्?
डिट्ठा [संस्कृतमा डित्थ, नेपालीमा डिट्ठा] = पदको नाम – क्षेत्रका सुब्बा पदभन्दा तल, गाउँका मुखिया पदभन्दा माथिको पद। डिट्ठाजस्तै बिचारी पनि पदकै नाम हो ।
बिचारी = Jury = अराजपत्रित पद Non gazette post न्यायालय वा पञ्चायतमा बिचारी रहन्थे।

११. भानुभक्तका रचना खोजी गरेर प्रकाशित गर्ने व्यक्ति मोतीराम भट्ट हुन्। उनको प्रकाशन संस्था मोतीकृष्ण कम्पनी थियो। उनीपछि विश्वराज हरिहर शर्माले छापेका पुस्तकहरू पाटनका व्यापारी भाग्यमणि भिक्षाचार्य नेवारले दार्जिलिङ डुवर्सका हाटतिर बेच्ने हुँदा १८९० देखि यता भानुभक्त परिचित भए। अहिलेको डम्बर चोकमा पसल फिँजाउँदथे। क्रिस्तान मिसनरीहरूले रामायण प्रचार गरेको मन पराएनन्। त्यहाँबाट उनलाई उठिबास लगाए। त्यहाँ भिक्टोरिया महारानीको मूर्ति राखियो। उनी इच्छे बस्तीमा सरुवा भए। त्यहाँ पारसमणि र अरू भाइहरू जन्मिए। उनै पारसमणि भानुभक्तका प्रगाढ प्रचारक बने।

१२. सुधपा र अरू सचेतजन मिलेर १९२४ मा नेपाली साहित्य सम्मेलन खोलेपछि भानुजयन्ती मनाए। १९२२-देखि खरसाङबाट गान्तोक गई टासी नाम्ग्याल स्कुलमा गुरुबाबू बनी नेपाली शिक्षा प्रचार गर्ने रश्मिप्रसाद आलेले १९४४ देखि विद्यार्थी भेला गरी आफ्नो कोठामा भानुजयन्ती मनाउन थालेको थाहा लाग्दछ। दार्जिलिङमा १९४६ मा भव्य रूपले मनाएदेखि समारोहपूर्वक भानुजयन्ती मानउने प्रथा बस्यो। १९५३ देखि मात्र काठमाडौँमा भानुजयन्ती मनाउन थालेको थाहा लाग्दछ। १९८० देखि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले भानुजयन्तीलाई सिक्किमको प्रशासनिक पर्व घोषणा गरिदिएका थिए।

१३. असममा पहिलो भानुजयन्ती मनाइएको १९५५ मा हो। पद्मश्री लीलबहादुर छेत्रीको पहलमा गोर्खा सेवा समाजको नेतृत्वमा गुवाहाटीको एमई स्कुल भवनमा त्यो समारोह भएको थियो।

१४. क्यामेरामा खिचिएको भानुभक्तको छाञाछवि छैन। भानुभक्त कस्ता थिए भनी अभिकल्पना गरीकन बालकृष्ण समले आफ्नी चित्रकर्तृ छोरी ज्वाला समलाई बनाउन लाएको चित्र नै हामीले चिनेका भानुभक्त भए। त्यही चित्रको आधारमा मूर्तिकार ई. ई. थोम्पसनद्वारा बनाइएको पहिलो मूर्ति इसाब्द १९४८ मा नेसासले दार्जिलिङ नगरको चौरस्तामा स्थापना गरेको थियो। थोम्पसनले थुप्रै गोर्खाका अनुहार अध्ययन गरी बुझीकन मूर्ति कुँदेका थिए पनि भनिन्छ।

१५. नेपालमा पहिलोपल्ट १९५९ मा भानु मूर्ति स्थापना भयो। त्यो काठमाडौँको प्रासादीय पाठशाला ‘दरबार हाई स्कूल’को पर्खालमा टाँसेर बनाइएको थियो। त्यसपछि नेपालका अरू भागमा र विदेशमा पनि मूर्ति स्थापना हुन थाले।

१६. ⁠भानुभक्तको पूर्णाङ्गी मूर्ति सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको तत्परतामा गान्तोकमा भानु उद्यान बनाई १९८२ मा स्थापना गरिएको थियो। भानुभक्तको पहिलो पूर्णाङ्गी मूर्ति त्यही हो।

१७. १९४८ मा स्थापित दार्जिलिङको अर्धाङ्ग मूर्ति असामाजिक तत्त्वले १९८८ मा नष्ट गरेपछि त्यही ठाउँमा नेसासको तत्परतामा १९९२ मा फेरि पूर्णाङ्ग मूर्ति स्थापना भयो। पूर्णाङ्ग मूर्तिको शरीर साहित्यकार रामलाल अधिकारीको छविबाट शिल्पीले प्रतिकृति उतारेका थिए।

१८. भानुभक्त आचार्यलाई सम्मान गर्दै नेपालले पहिलो स्मारक ५ पैसा मूल्यवर्गको डाक टिकट १३ जुलाई १९६२ मा प्रचलनमा ल्याएको थियो। त्यसपछि ‘आदिकवि’ भानुभक्त आचार्यको सम्मानमा अर्को स्मारक डाक टिकट ३१ डिसेम्बर २०१३ मा प्रकाश गरिएको थियो।

१९. भानुभक्तको कृतित्वबारे भारतबाट अन्वेषण गरी प्रकाशमा ल्याइएको पहिलो ग्रन्थ भाइचन्द प्रधानको ‘आदिकवि भानुभक्त’ (१९५२) हो। त्यसअघि मोतीराम भट्टको ‘भानुभक्ताचार्यको जीवनचरित्र’ (१८८३) र ब्रह्मशमशेरको ‘कवि भानुभक्त’ (१९३८), भानुभक्तकी नातिनी तथा रमानाथकी छोरी विष्णुमाया शर्माको ‘भानुभक्त मणिमाला’ (१९४१) प्रकाशमा आइसकेका थिए। बाबुराम आचार्यको ‘तुलनात्मक सुन्दरकाण्ड’ (१९४५) र ‘पुराना कवि र कविता’ (१९४६), नरनाथ आचार्यको ‘कविसम्राट् आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ (१९६०/१९७९), कमल दीक्षितको ‘यस्तो पनि’ (१९५७) र ‘कालो अक्षर’ (१९६०) आदि भानुभक्तीय रचनाका आधिकारिक अध्ययन हुन्।

२०. वर्तमानमा साझा प्रकाशनबाट निस्केको नरेन्द्रराज प्रसाईको अन्वेषणपरक ग्रन्थ ‘भानुभक्त आचार्यको जीवनवृत्त’ (इ. २०१७) तथ्यपरक मान्न सकिन्छ। २०१४ मा यो ग्रन्थ नइ प्रकाशनबाट प्रस्तुत भएको थियो। यस ग्रन्थबारे समालोचक वासुदेव त्रिपाठीले ‘भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत’ (२०१५) पुस्तक प्रस्तुत गरेका छन्।

२१. पारसमणि प्रधानद्वारा सङ्कलित र सम्पादित ‘भानुभक्त ग्रन्थावली’ (१९५२) नेपाली साहित्यको पहिलो ग्रन्थावली हो। पारसमणि प्रधानले लेखेको ‘आदिकवि भानुभक्त आचार्य’ (१९७९) भानुभक्तबारे लेखिएको पहिलो अङ्ग्रेजी पुस्तक हो।

२२. भानुभक्तकै सातौँ वंशज व्रतराज आचार्यले ‘आदिकवि भानुभक्त : जीवनी र कविताको सम्परीक्षण’ (इ.२००१/२०१३) भानुभक्त प्रतिष्ठान, काठमाड़ौँबाट प्रकाशमा ल्याएर भानुभक्तविषयक महत्त्वपूर्ण तथ्य उपलब्ध गराइदिएका छन्। त्रिभुवन विश्वविद्यालयका आचार्य डा. व्रतराज आचार्य आफैँले सम्पादन गरी भानुभक्तको २००औँ जयन्तीमा पुरातन अवशेषकै आकारमा पुरावस्तुझैँ देखिने नेपाली पत्रमा भानुभक्तको रामायणसहित सबै रचना समेटेर बनाएको ग्रन्थ (२०१३) सङ्ग्रहणीय छ।

२३. लेखनाथ पौड्याल, धरणीधर शर्मा, बालकृष्ण शमशेर, चक्रपाणि चालिसे, दीनानाथ सापकोटा, पारसमणि प्रधानले त्यस बेला भानुभक्तप्रति पद्यार्चना गरेका छन्। कालान्तरमा सिद्धिचरण श्रेष्ठको ‘भानुभक्तप्रति’, लक्ष्मीप्रसाद देवकोटाको ‘घाँसी’, तुलसी अपतनको ‘भानुभक्तका कविता’, माधवप्रसाद घिमिरेको ‘आदिकविको अर्चना’, भानुभक्त पोखरेलको ‘भानु-उदय’ लोकप्रिय बनेका थिए।

२४. भानुभक्तीय रामायण किन मौलिक रचना हो भन्नेबारे बालकृष्ण समले शैलीसिद्ध अनुवादका कारणले मानेका छन् भने पुष्करशमशेरले आदर्श पद्यानुवादका कारणले मानेका छन्।

२५. साहित्य अकादमीबाट वी. रागवनको सम्पादनमा ‘दि रामायण ट्रेडिसन इन एसिया’ (१९८०) मा कमला सांकृत्यायनको लेख ‘रामायण इन नेपाली’ संलग्न भएको छ।

२६. असमकी साहित्यकार गीता उपाध्यायले असमियामा अनुवाद गरेकी भानुभक्तको रामायण (१९८७) असम साहित्य सभाले प्रकाशित गरेको थियो।

२७. डा. शान्ति थापाले ‘तुलसीदासकृत रामचरितमानस और भानुभक्तकृत रामायण मे व्यक्त सामाजिक जीवन’ शोधप्रबन्ध लेखेकी छन्। डा. गायत्री नेवारले ‘माधव कन्धली आरू भानुभक्तार रामायणर तुलनामूलक अध्ययन’ शीर्षकमा गुवाहाटीको गौहाटी विश्वविद्यालयबाट असमिया भाषामा विद्यावारिधि गरेकी छन्। काशी हिन्दू विश्वविद्यालयबाट भानुभक्तको भाषामा कविता लामाले शोध सम्पन्न गरेकी थिइन्। नेपालबाट त धेरै शोध भएको हुनुपर्छ।

२८. ⁠बालकृष्ण समको नाटक ‘भक्त भानुभक्त’ (१९४३) गौरीशङ्कर नाट्यसमूहद्वारा १९४५ मा मञ्चित भएको थियो। यहाँ भानुभक्तलाई साहित्यिकभन्दा धेर रामभक्त देखाइएको छ। सीके श्रेष्ठको नाटक ‘सानुभक्त र काशी’ (१९८५) मा चर्मकार वृत्ति गर्ने काशीले बिहारमा बिल्डिङ बनाएको र छोरालाई प्रोफेसर बनाएको कथा सुनाउँदा स्थानीय बेकारी युवक सानुभक्त अरकच्च परेको देखाइएको छ।

२९. अयन भनेको बाटो हो। राम हिँडेको बाटो रामायण हो। राम हिँडेको आदर्श बाटोमा जनगणलाई हिँड्न सिकाएको र नेपाली साहित्यलाई शुद्ध भाषा दिएको हुनाले भानुभक्तलाई मानिएको हो। आदर्श पथ बिराउने र अशुद्ध भाषा लेख्ने दोस्रो व्यक्तिलाई ‘भारतका भानुभक्त’ भन्नु उचित छैन।

३०. भानुभक्तबारे पहिलो वृत्तचित्र सिक्किमबाट रमेशकुमार प्रधान (रमेश बादल) ले बनाएका हुन्। उनले तनहुँमै शोध अनि छायाङ्कन गरेर १९८५-मा पूरा गरेका थिए । साहित्यप्रेमी तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले वृत्तचित्र अभियानलाई सहयोग गर्न सरकारी निकाय नै प्रदान गरेका थिए। भानुविषयक दोस्रो चलचित्र हो यादव खरेलको ‘भानुभक्त’ (१९९९)।

३१. होमर, सप्फो, वाल्मीकि, व्यास, कालिदास, सुरदास, तुलसीदाससहित देवकोटा आदि विश्वका प्रसिद्ध कविहरूको जीवनमा मिथक जोड़िएका पाइन्छन्। भानुभक्तसित पनि घाँसी मिथक जोडिएको पाइन्छ। त्यागी मोतीरामले ‘भरजन्म घाँसतिर…’ कवितासहित जोडिदिएको मिथकले भानुभक्तको वैभव वृद्धि भएकै छ।

३२. ⁠भानुभक्तले साहित्य लेखेका बेला भारतमा नवजागरणको प्रवाह चलिरहेको थियो। सतीप्रथा निराकरण अधिनियम १८२८, कन्याहत्या निराकरण, विधवा पुनर्विवाह आदि प्रचार हुँदै थिए। यी कुरादेखि भानुभक्त अनभिज्ञ थिए। उनका समकालीन कवि ज्ञानदिल यी विषयमा सचेत थिए। रचनामा प्राञ्जल भाषा र जनमनको ललित अभिव्यक्ति हुनाले गर्दा भानुभक्त जनताका कवि अनि विश्व गोर्खाका एकताका प्रतीक बने।

चित्रमा : कवि पारसमणि प्रधानको ‘भानुबन्ध’ कविता :

हाम्रा यी अति मान्य आदि कवि हुन् अत्यन्त धर्मी थिए।
लेख्थे धर्म र भावपूर्ण कविता भाषा बनाई दिए।।
नेपालीहरूलाइ भानु सरि भै बाटो बताई दिए।
भाषा राष्ट्र र राम भक्त कवि यी साह्रै रसिला थिए।।

पारसमणि प्रधानकी नातिनी श्रीमती अरुणा प्रधानको मतमा : ‘…हाम्रा यी अति मान्य आदि कवि हुन् थुना परेका थिए’ यो मोतिराम भट्टको कविता हो। भानुभक्त नाम (भानु= घाम) अनि उहाँको घाँसीसँगको अनुभव (घाँस काट्ने हसिया) को अत्यन्तै अर्थपूर्ण चित्रांकन गरी यो कवितालाई नयाँ ऊर्जा दिनुहुने पारसमणि प्रधानका जेष्ठ सुपुत्र रुद्रमणि प्रधान हुन् जो पेशाले इन्जिनियर थिए। पछिबाट पारसमणि प्रधानको जानकारी बेगरै यस कविताको एकै शब्द ‘थुना’ लाई ‘अत्यत्नै धर्मी’ मा परिनत गरीकन पारसमणि प्रधान रचित भनिन थालियो। यो मेरो जानकारी मैले यसरी प्रत्यक्ष भन्नु सकेको कारण पारसमणी अजाले नै हामी नाता नातिनीहरूलाई अरू धेरै कविताहरू साथ सथै यो कविताको इतिहाससँगसँगै घोकाउनु भयेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast