काठमाडौँ– जर्सीमा रहेको नेपाली टाेलीले आफ्नो क्रिकेट इतिहासमा दोस्रो पटक उसको घरेलु भूमिमा खेल्दैछ ।
दुई खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल र जर्सी आज(सोमबार) खेल्दैछन् । जर्सीमा दुई देशबीचको खेल सोमबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ ।
नेपालले दोस्रो पटक जर्सीमा खेल्न लागेको हो । यसअघि १८ वर्ष अघि नेपालले जर्सीमा खेलेको थियो ।
त्यसबेला आईसीसी विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाल जर्सीको भूमिमा पहिलो पटक पुगेको थियो । सो प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको थियो ।
अहिले भने नेदरल्यान्ड्समा आयोजना हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नु अघि अभ्यासका लागि नेपाल जर्सीमा रहेको छ ।
जर्सीसँगको अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ । यस शृङ्खला पछि नेपाल नेदरल्यान्ड्स जानेछ ।



