काठमाडौँ- २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आत्मदाह गरेपछि तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत त्यस घटनालाई राज्यको चरम असफलताको संकेत भएको टिप्पणी गरेका थिए।
त्यतिबेला उनले फेसबुकमा लेखेका थिए,‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’ भविष्यमा यस्ता घटना दोहोरिन नदिन महानगरले सीप विकास र रोजगारी सिर्जनासँग सम्बन्धित संरचना निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
त्यसयता शाह मुलुकको प्रधानमन्त्री बनेका छन्। यसैबीच, बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।
मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका गणेश कृषि विषयमा स्नातक उत्तीर्ण हुन्। रोजगारीको अभावपछि उनी विगत दुई वर्षदेखि काठमाडौँमा पठाओ चालकका रूपमा काम गर्दै आएका थिए।
प्रत्यक्षदर्शीका अनुसार सडक छेउमा पार्किङ गरिएको मोटरसाइकल काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले नियन्त्रणमा लिन खोजेपछि गणेशले मोटरसाइकल आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार भएको भन्दै नलान आग्रह गरेका थिए। त्यसपछि उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
घटनापछि गम्भीर घाइते भएका गणेशको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताइएको छ। उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
यस घटनापछि सामाजिक सञ्जालमा प्रेमप्रसाद आचार्यको आत्मदाहपछि शाहले व्यक्त गरेको धारणा पुनः चर्चामा आएको छ।
त्यतिबेला उनले राज्यका निकाय र जनप्रतिनिधिले नागरिकप्रति जिम्मेवार हुनुपर्ने तथा यस्ता दुःखद घटना दोहोरिन नदिन सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका थिए।
प्रेमप्रसाद आचार्यको विषयमा बालेनको पोस्ट




