रविले दलको नेताबाट हटाउन सक्छन् बालेनलाई

हिमाल प्रेस २२ असार २०८३ १९:०९ | Monday, July 6, 2026
26
SHARES
रविले दलको नेताबाट हटाउन सक्छन् बालेनलाई

काठमाडौँ- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विधानमा संसदीय दलको नेता हटाउन सक्ने प्रावधान राखेको छ। चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट संशोधित विधानमा रास्वपाले सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सक्ने प्रावधान राखेको हो।

रास्वपा विधानको धारा ११ (क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारको व्यवस्था छ। सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँगको समन्वय’ समावेश छ। यो उपधाराले संसदीय दलसँग समन्वय गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ।

‘पार्टी र संसदीय दलबीच वैचारिक, नीतिगत तथा राजनीतिक समन्वय कायम गर्ने। पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा, संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन प्रदान गर्ने। यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको कर्तव्य हुनेछ,’ विधानको धारा ११ (क) मा उल्लेख छ।

यतिबेला रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)  छन्। संसदीय दलको नेता हटेमा प्रधानमन्त्री पद जानेछ। विधानबमोजिम उनले पार्टी सभापति रवि लामिछानेले दिने सबै निर्देशन पालना गर्नुपर्ने हुन्छ।

सभापतिको निर्देशन पालना नगरेको अवस्थामा विधानबमोजिम उनी पदमुक्त हुन सक्नेछन्। रास्वपाको विधानले संसदीय दलको नेतालाई पदमुक्त गर्ने व्यवस्था गरेको छ। विधानको धारा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त र प्रत्याह्वानसम्बन्धी व्यवस्था छ।

यो दफाको (१) को (ङ) मा ‘यस विधानको ११ (क) को ‘अ’ ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा’ संसदीय दलको नेताबाट पदमुक्त हुने भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast